काठमाडौं । ओलम्पिक महिला फुटबल छनोट अन्तर्गत दोस्रो चरणको छनोटको अन्तिम खेलमा नेपालले जित निकालेको छ ।
म्यानमारमा मंगलबार भएको लिग चरणको अन्तिम खेलमा नेपालले इन्डोनेसियालाई २-१ गोल अन्तरले पराजित गरेको हो ।
नेपालको जितमा दुवै गोल सावित्रा भण्डारीले गरिन् । इन्डोनेसियाका अमिअतुन शालिहाले एक गोल फर्काइन ।
खेलको ३६ औं मिनेटमा सावित्राले गोल गर्दै नेपाललाई सुरुवाती अग्रता दिलाएकी थिईन् । तर, ४७ औं मिनेटमा शालिहाले गोल गर्दै इन्डोनेसियालाई खेलमा फर्काइन ।
त्यसपछि खेलको ८९ औं मिनेटमा सावित्राले व्यक्तिगत दोस्रो गोल गर्दै नेपाललाई २-१ को जित दिलाईन् । योसंगै सावित्राले नेपालका लागि २८ गोल पुरा गर्न सफल भएकी छिन् ।

छनोटको अन्तिम खेलमा इन्डोनेसियालाई पराजित गरेपनि नेपाल तेस्रो चरणमा पुग्न सकेन् । प्रतियोगिताबाट बाहिरिसकेको नेपालले अन्तिम खेलमा ३ अंक जोड्दै प्रतियोगिताको सुखद अन्त्य भने गरेको छ ।
इन्डोनेसियाविरुद्ध प्रशिक्षक हरि खड्काले तीन खेलाडी परिवर्तन गरेको थिए । गोलकिपर एन्जिला तुम्बाप्पो सुब्वाको स्थानमा अन्जना राना मगर र डिफेन्डरमा मनमाया लिम्बुको स्थानमा अमृता जैसी तथा हिरा कुमारी भुजेलको स्थानमा कविता धिमाललाई खेलाईएको थियो ।
इन्डोनेसियाविरुद्धको जितसंगै समूह 'ए' मा रहेको नेपालले छनोटमा ३ अंक जोड्यो । र, समूहको तेस्रो स्थानमा रह्यो । अंकविहीन इन्डोनेसिया पुछारमा रह्यो । आयोजक म्यानमार भने तेस्रो चरणमा छनोट भएको छ ।
प्रतियोगिताको पहिलो खेलमा नेपाल आयोजक म्यानमारसंग ३-१ गोल अन्तरले पराजित भएको थियो । यस्तै दोस्रो खेलमा नेपाल चिरपरिचित भारतसंग पनि ३-१ ले नै पराजित भएको थियो ।
