काठमाडौं । नेपालमा दोस्रो पटक हुन लागेको युरोपियन क्लब एसी मिलान जुनियर फुटबल क्याम्प आइतबारबाट सुरु हुने भएको छ ।
आयोजक एटलान्टिक स्पोर्ट्स म्यानेजमेन्टका संयोजक थमन भुसालले क्याम्प आइतबारबाट सुरु हुने खेलपाटीलाई जानकारी दिए ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा हुने क्याम्प चैत ३० गतेसम्म संचालन हुनेछ । क्याम्पमा ७ देखि १७ वर्षमुनिका ८० खेलाडी सहभागी हुनेछन् ।
‘हामीले क्याम्पको तयारी पुरा गरिसकेका छौं,’ संयोजक भुसालले भने, ‘अहिलेसम्म ८० खेलाडीले नाम दर्ता गराएका छन् ।’
संयोजक भुसालका अनुसार क्याम्पका लागि इटालियन क्लब एसी मिलानबाट ४ प्रशिक्षकहरु नेपाल आउने छन् ।
क्याम्पका लागि आउने प्रशिक्षकहरुमा आन्द्रे निकोली, पाओलो कार्ली, गाब्रिले मेरोक्को र सिमोन बोनीनी रहेका छन् ।चारै प्रशिक्षक शनिबार नेपाल आईपुग्ने छन् ।
क्याम्प दैनिक बिहान ९ः३० देखि बेलुका ६ बजेसम्म संचालन हुनेछ ।