काठमाडौं । डा ता आओ अन्तराष्ट्रिय फुटबल च्याम्पियनसिपमा नेपालको युवा टोलीले (आज) बुधबार भारतको मेघालयसंग प्रतिस्पर्धा गर्दैछ । च्याम्पियनसिप खेल्न भारतको गुहावटी पुगेको एन्फाले पठाएको यू–२१ टोलीले च्याम्पियनसिपको पहिलो खेलमा भारतीय टिमसंग प्रतिस्पर्धा गर्न लागेको हो ।
खेल पौने २ बजे सुरु हुने छ ।
प्रतियोगिताको अघिल्लो दिन मंगलबार बिहान नेपाली टिमले सामान्य अभ्यास गरेको थियो । खेल अगाडी टिमका मुख्य प्रशिक्षक चेत नारायण श्रेष्ठले च्याम्पियनसिपको उपाधि जितेर घर फर्कने बताएका थिए ।
प्रतियोगिताका लागि छोटो समयको तयारी गरेपनि प्रशिक्षक श्रेष्ठले टिम राम्रो बनेको र उपाधि जितेर घर फर्कने दाबी गरेका हुन् ।
'समय छोटो भएपनि प्रतियोगिताका लागि तयारी राम्रो छ । सबै खेलाडीहरुले लिग खेलीरहेको भएर खेलमा कुनै समस्या छैन ।' खेल अगाडी प्रशिक्षक श्रेष्ठले भने, 'हाम्रो लक्ष्य जित्ने नै हो । हामी यहाँबाट ट्रफी लिएर जान चाहान्छौं ।'
प्रतियोगितामा नेपाल समुह बी मा परेको छ । नेपाल सँगै समुह बीमा नागल्याण्ड, मेघालय, मिजोराम, मनिपुर र त्रिपुरा रहेका छन् । दोस्रो खेलमा त्रिपुरासँग नेपालले २१ तारिखमा खेल्नेछ ।
प्रतियोगिताको तेस्रो खेलमा नेपालले २३ तारिखका दिन अपरान्ह पौने ५ बजे मनिपुरसँग खेल्नेछ । चौथो खेलमा २४ तारिखमा अपरान्ह पौने ५ बजे मिजोरामसँग खेल्नेछ । लिग चरणको अन्तिम खेलमा २५ तारिखमा अपरान्ह पौने ५ बजे नागाल्याण्डसंग खेल्नेछ ।
समुहका विजेता र उपविजेताले दोस्रो चरणमा भिड्नेछन् । प्रतियोगिताको फाईनल खेल २८ तारिका हुनेछ ।