राखेपले भन्यो– चीन जाँदा एरिकालाई सहयोग नगरेकै हो !

काठमाडौं। राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले करातेकी ऐतिहासिक पदक विजेता एरिका गुरुङलाई डब्लुकेएफ कराते वान प्रिमियर लिग खेल्न जान सहयोग नगरेको स्वीकार गरेको छ।
गत चैतमा अन्तिममा चीनको लेसनमा सम्पन्न सेमिफाइनलमा इटलीकी खेलाडी फेराकुटी क्लियोलाई पराजित गर्दै एरिक स्वर्णनजिक पुगेकी थिइन्। उनले ६८ केजीमाथि तौल समूहमा फेराकुटीलाई ८–३ ले पराजित गरेकी हुन्। तर, स्वर्णका लागि भएको प्रतिस्पर्धामा उनी काजकिस्तानकी सोफिया बर्लुतशोभासँग २-१ ले पराजित भइन्।
एरिका नेपाल फर्किएसँगै उनका मुख्य प्रशिक्षक कुशल श्रेष्ठले खेलपाटीसँग यो प्रतियोगिता खेल्न जान राखेपले कुनै सहयोग नगरेको गुनासो गरेका थिए। ‘यसअघि राखेपले टिकटमा भए पनि सहयोग गर्दै आएको थियो। तर, यसपल्ट लेसन जान राखेपले कुनै सहयोग नै गरेन। टिप्पणी उठाउँदा अहिले विनियोजित बजेट छैन, त्यसैले सहयोग गर्न सक्दैनौं भन्यो,’ उनले भनेका थिए,‘यस्तो अवस्थामा अरू प्रतियोगितामा कसरी सहभागिता जनाउने? यो एउटा प्रश्नचिन्ह आएको छ।’

तर, खेलपाटीले उक्त भिडियोको ‘रिल्स’ हालेको तीन दिनपछि राखेपका प्रशासन विभाग प्रमुख भोजानन्द राईले विज्ञप्ति निकाल्दै कुशलको गुनासोलाई स्वीकार गरेका हुन्।
‘सो प्रतियोगितामा जानका लागि बजेट अभावका कारण आर्थिक सहयोग गर्न नसकिएको प्रति परिषद् दुखी बनेको छ। तर, खेलाडी गुरुङलाई सो प्रतियोगितामा सहभागी हुन विभिन्न सस्थाहरुले सहयोग पुऱ्याउनु भएको थियो। सहयोगका लागि परिषद् धन्यवाद ज्ञापन गर्दछ,’ उनले भनेका छन्।
गत जनवरीमा टर्कीको इस्तानबुलमा भएको प्रिमियर लिगमा एरिकाले ऐतिहासिक रजत पदक जितेकी थिइन्। प्रिमियर लिग वर्षमा ४ पटक हुन्छ। उनी उक्त प्रतियोगिता बर्लुतशोभासँगै पराजित भएकी थिइन्।
टर्की र लन्डनमा भएको उक्त प्रतियोगिता खेल्न जाँदा राखेपले कुशल र एरिकालाई जनही २ लाख २० हजार दिएको थियो। कुशलले तत्कालीन सदस्य–सचिव टंकलाल घिसिङले सहयोग गर्दै आइरहेको स्मरण गरेका थिए। तर, यसपल्ट भने कुनै सहयोग नपाइएको उनले गुनासो गरे।
‘उहाँले प्लेन फियर भए पनि दिन्छु भनेर भन्नुभएको थियो। पछि त्यो आए पनि। तर, उहाँ गएपछि त्यस्तो सहयोग पाइएन। हाम्रो कराते अहिले प्रशिक्षकविना खेलाडी सहभागी हुन गाह्रो छ। राखेपले पैसा दिँदैन, प्रशिक्षक आफैंले पकेटको पैसा हालेर कहिलेसम्म जाने? एरिकाजस्तो पोटेन्सिएल खेलाडीको सहभागितामा कन्जुस्याइँ गर्नुहुँदैन जस्तो लाग्छ,’ उनले भनेका थिए।
तर, कुशलले सत्यमा आधारित रहेर अभिव्यक्ति दिँदा राखेपले आफ्नो गल्ती स्वीकार गरे पनि एरिका र उनीमाथि गरेको खर्चको विवरण सार्वजनिक गरेको थियो। नेपाल कराते महासंघले राखेपको यो कार्यलाई अपरिपक्व, असान्दर्भिक तथा जग हँसाउने कार्य भएको ठहर गरेको छ।












-1778676153265.jpeg&w=3840&q=75)


