अल–नासर अन्तिम क्षणमा उपाधि जित्नबाट बञ्चित

काठमाडौं। साउदी प्रो लिगको उपाधि जित्ने अवसरबाट अल–नासर अन्तिम क्षणमा बञ्चित भएको छ।
मंगलबार भएको खेलमा अल– हिलालसँग १–१ को बराबरी खेलेको हो। अल–नासरका गोलरक्षक बेन्टोले इन्जुरी समयको ९८औं मिनेटमा आत्मघाती गोल गरेपछि टोलीको उपाधि जित्ने सम्भावना तत्कालका लागि टरेको हो।
सन् २०१८–२०१९ पछि पहिलो पटक लिग उपाधिनजिक पुगेको अल–नासर जितबाट केही सेकेन्ड मात्र टाढा थियो। तर, अल– हिलालको लामो थ्रो–इन क्लिअर गर्न नसक्दा ब्राजिली गोलरक्षक बेन्टोको गल्तीबाट बल आफ्नै पोस्टमा छिरेको थियो।
एक खेल बाँकी रहँदा अल–नासर ३३ खेलबाट ८३ अंकसहित शीर्ष स्थानमा छ। दोस्रो स्थानमा रहेको अल– हिलालसँग ७८ अंक छ र उसले अझै एक खेल खेल्न बाँकी छ।
अल–नासरले मे २१ मा हुने अन्तिम खेलमा दमाकलाई हराए उपाधि पक्का गर्नेछ। यद्यपि, शनिबार अल– हिलाल नेओमसँग पराजित भएमा पनि अल–नासर च्याम्पियन बन्नेछ।
घरेलु मैदानमा खेलिरहेको अल–नासरका लागि मोहम्मद सिमाकानले ३७औं मिनेटमा कर्नरमार्फत गोल गर्दै अग्रता दिलाएका थिए। पहिलो हाफको अन्त्यतिर किङ्स्ले कोमानले अर्को उत्कृष्ट अवसर खेर फाल्दा उनको प्रहार पोस्टमा लागेको थियो।
अल–नासरका स्टार खेलाडी क्रिश्चियानो रोनाल्डोले दोस्रो हाफ सुरु भएको केही सेकेन्डमै गरेको प्रहार भने गोलपोस्टभन्दा बाहिर गएको थियो। रोनाल्डो अझै पनि अल–नासरबाट आफ्नो पहिलो घरेलु उपाधिको प्रतीक्षामा छन्।










-1778676153265.jpeg&w=3840&q=75)

