पाँच पटकको च्याम्पियन चेन्नईलाई राजस्थानको चुनौती

काठमाडौं। इन्डियन प्रिमियर लिग (आईपीएल)को तेस्रो खेल चेन्नई सुपर किंग्स र राजस्थान रोयल्सबीच हुने भएको छ। यो खेल राजस्थानको दोस्रो घरेलु मैदान गुवाहाटीस्थित बरसापारा स्टेडियममा आयोजना हुनेछ। खेल साँझ ७:४५ बजे सुरु हुनेछ भने टस ७: १५ बजे हुनेछ।
पूर्वकप्तान महेन्द्र सिंह धोनी यो खेलमा खेल्ने सम्भावना निकै कम छ। चेन्नईले शनिबार दिएको जानकारी अनुसार धोनी आईपीएल २०२६ को सुरुआती दुई हप्ता बाहिर रहनेछन्। उनी मांसपेशी तन्किएको समस्याका कारण ‘रिह्याब’ प्रक्रियामा छन्। उनलाई ‘काफ स्ट्रेन’ समस्या भएको छ।
चेन्नई पाँच पटक (२०१०, २०११, २०१८, २०२१, २०२३) को च्याम्पियन रहिसकेको छ। तर, अघिल्लो सिजनमा टोलीको प्रदर्शन निकै कमजोर रह्यो र अंक तालिकामा अन्तिम अर्थात् १०औं स्थानमा रह्यो।
यता राजस्थानले अहिलेसम्म एक पटक मात्र उपाधि जितेको छ। अघिल्लो सिजन उनीहरू पनि ९औं स्थानमा सीमित भएका थिए। हेड–टु–हेड प्रतिस्पर्धा निकै प्रतिस्पर्धात्मक रहेको छ।
दुवै टोलीबीच अहिलेसम्म ३२ खेल भएका छन्। त्यसमा दुवैले १६–१६ खेल जितेका छन्। गुवाहाटीमा यी दुईबीच हालसम्म एउटा मात्र खेल भएको छ। यसमा गत सिजन राजस्थानले ६ रनले जित हासिल गरेको थियो।
जोन्सन चेन्नईमा
राजस्थानका अलराउन्डर स्याम करन चोटका कारण प्रतियोगिताबाट बाहिरिएका छन्। उनको स्थानमा श्रीलंकाका टी–२० कप्तान अलराउन्डर दसुन शनाकालाई टोलीमा ल्याइएको छ।
चेन्नईका अस्ट्रेलियाली तीव्र गतिका बलर नाथन एलिस पनि चोटका कारण बाहिरिएका छन्। उनको स्थानमा अस्ट्रेलियाकै बायाँहाते तीव्र गतिका बलर स्पेन्सर जोन्सनलाई टोलीमा समावेश गरिएको छ।
सञ्जु साम्सन र रवीन्द्र जडेजा यस सिजन आफ्नो पुरानो टोलीविरुद्ध खेल्नेछन्। साम्सन लामो समयसम्म राजस्थानसँग आबद्ध थिए। तर, अहिले चेन्नईको जर्सीमा देखिनेछन्। त्यस्तै, लामो समय चेन्नईका लागि खेलेका जडेजा यस पटक राजस्थानबाट मैदानमा उत्रिनेछन्।
चेन्नईको ब्याटिङ बलियो
यस सिजन चेन्नईको ब्याटिङ लाइनअप निकै बलियो देखिएको छ। शिवम दुबे र आयुष म्हात्रे मिडल अर्डरका भरपर्दा ब्याटर बनेका छन् भने युवा सञ्जु साम्सनले पनि टोलीलाई मजबुती दिएका छन्।
बलिङतर्फ नूर अहमद, अकील हुसेन, म्याट हेनरी र खलील अहमदले जिम्मेवारी सम्हाल्नेछन्। डेवाल्ड ब्रेविस चोटका कारण सुरुआती खेलहरूबाट बाहिर रहन सक्ने सम्भावना छ।
राजस्थान रोयल्समा रवीन्द्र जडेजाको आगमनले टोलीमा अनुभव र सन्तुलन बढाएको छ। ब्याटिङमा यशस्वी जायसवालमाथि ठूलो जिम्मेवारी रहनेछ। उनीसँगै युवा वैभव सूर्यवंशी र राम्रो फर्ममा रहेका शिमरोन हेटमायरले टोलीलाई मजबुती दिने अपेक्षा गरिएको छ।
तर, बलिङ विभाग भने अझै चिन्ताको विषय बनेको छ। जोफ्रा आर्चरको नेतृत्वमा तीव्र गतिका बलरहरूले स्थिर प्रदर्शन गर्नुपर्नेछ। स्पिनतर्फ जडेजा र रवि बिश्नोईले जिम्मेवारी सम्हाल्नेछन्।










-1774839033537.webp&w=3840&q=75)


