रोनाल्डोबिनाको पोर्चुगल खिन्न
-1774839033537.webp&w=3840&q=75)
काठमाडौं। मेक्सिको र पोर्चुगलले शनिबार राति भएको मैत्रीपूर्ण खेलमा गोलरहित बराबरी खेले। यो खेल २०२६ विश्वकपका लागि करिब दुई वर्षको पुनर्निर्माणपछि पुनः सञ्चालनमा आएको अज्टेका रंगशालाको उद्घाटनको अवसरमा भएको थियो।
खेलको २६औं मिनेटमा गोनकालो रामोसले सबैभन्दा राम्रो गोल गर्ने मौका पाए पनि उनको प्रहार पोस्टमा लागेर फर्किएको थियो। प्रसिद्ध अज्टेका रंगशालामा १९७० र १९८६ को विश्वकप फाइनल आयोजना गरिएको थियो।
मे २०२४ देखि पुनर्निर्माणका लागि बन्द गरिएको थियो। आगामी विश्वकपमा यस रंगशालामा पाँच खेल हुनेछन्। तीन समूह चरणका र दुई नकआउट चरणका हुन्।
मेक्सिकोका प्रशिक्षक जाभियर अगिरेले भने,‘व्यक्तिगत रूपमा हेर्दा प्रायः सबै खेलाडीले राम्रो प्रदर्शन गरे। केही अस्थिरता त स्वाभाविक हो। तर, म समग्र प्रदर्शनबाट सन्तुष्ट छु।’
उनले थपे,‘हामीसँग केही खेलाडी घाइते भएका छन्, जुन बेवास्ता गर्न मिल्दैन। १२ जना खेलाडी अनुपस्थित छन्। यी खेलाडीले नेसन्स लिग र गोल्ड कप जित्न मद्दत गरेका थिए।’
पोर्चुगल टोली पनि केही प्रमुख खेलाडीबिना मैदान उत्रिएको थियो। विशेषगरी फरवार्ड क्रिस्टियानो रोनाल्डो र राफाएल लेआओको अनुपस्थिति उल्लेखनीय थियो।
मेक्सिकोले जुन ११ मा अज्टेका रंगशालामै प्रतियोगिताको उद्घाटन खेलमा दक्षिण अफ्रिकासँग खेल्नेछ। मध्यपंक्तिका खेलाडी एरिक सान्चेजले भने,‘हामीका लागि यस्ता विश्वस्तरीय टोलीसँग खेल्नु महत्त्वपूर्ण छ। यसले हाम्रो स्तर कस्तो छ भनेर देखाउँछ। अब हामीले बेल्जियमविरुद्ध राम्रो प्रदर्शन गर्ने सोच बनाउनुपर्छ।’
मेक्सिकोले अर्को मंगलबार शिकागोस्थित सोल्जर फिल्डमा बेल्जियमसँग खेल्नेछ भने पोर्चुगलले एटलान्टास्थित मर्सिडीज–बेन्ज रंगशालामा अमेरिकासँग प्रतिस्पर्धा गर्नेछ।
पोर्चुगलले विश्वकपको आफ्नो पहिलो खेल जुन १७ मा जमैका र कङ्गोबीच हुने अन्तरमहादेशीय प्लेअफको विजेतासँग खेल्नेछ।












