आरएस रिसोर्टमाथि बागमतीको साँघुरो जित

काठमाडौं। बागमती युथ क्लबले सहिद स्मारक राष्ट्रिय महिला लिगमा डेब्यु गरेको आरएस रिसोर्ट एन्ड बिच फुटबल क्लबमाथि ५–४ को साँघुरो जित दर्ता गरेको छ।
खेल सुरुदेखि नै दुवै टोलीबीच कडा प्रतिस्पर्धा देखिएको थियो। बागमतीका लागि अस्मिता मगरले नवौं र ७०औं मिनेटमा दुई महत्त्वपूर्ण गोल गरिन्। प्रजिता राईले ५२औं मिनेटमा गोल थपिन् भने दीक्ष्या रनपालले ६०औं र ७६औं मिनेटमा दुई गोल गर्दै टोलीको जित सुनिश्चित गरिन्।
आरएस रिसोर्टका गीता श्रेष्ठाले सातौं र ८३औं मिनेटमा दुई गोल गरिन्। त्यस्तै तुलसी कुमारी ओलीले ४८औं र वर्षा कुँवरले ६८औं मिनेटमा समान एक–एक गोल गर्दै खेललाई रोमाञ्चक बनाइन्।
खेलको अन्तिम समयसम्म नतिजा अनिश्चित रह्यो। तर, बागमतीले दबाब सहँदै अग्रता जोगाउन सफल भयो।
यस जितसँगै बागमतीले लिगमा महत्वपूर्ण तीन अंक जोड्दै सुखद् सुरुआत गरेको छ। आरएस रिसोर्टले संघर्षपूर्ण प्रदर्शनका बाबजुद अंक गुमाएको छ।






-1773889321491.webp&w=3840&q=75)





