यमलको अधूरो सपना पूरा

काठमाडौं। तीन वर्षअघि क्याटलान क्लब बार्सिलोनाको सिनियर टोलीबाट डेब्यु गरेका लामिन यमलले विश्व फुटबलमा आफूलाई द्रुत गतिमा स्थापित गरेका छन्।
१५ वर्षको उमेरमै विश्वकै उत्कृष्ट क्लबमध्ये एकबाट डेब्यु गरेका यी विंगरले छोटो समयमै उत्कृष्ट खेलाडीहरूको पंक्तिमा स्थान बनाए। उनलाई लिओनल मेसीको उत्तराधिकारीका रूपमा हेरिँदै आएको छ।
पुरानै लयमा फर्किन संघर्षरत क्याटलान क्लबलाई पुनः गौरवपूर्ण स्थानमा पुर्याउन उनले महत्त्वपूर्ण भूमिका खेलेका छन्। नियमित गोल र असिस्ट गर्दै आए पनि यमलको करिअरमा एउटा कुरा अधुरो थियो, ह्याट्रिक।
शनिबार त्यो अधुरो सपना पूरा भयो। यमलको करिअरकै पहिलो ह्याट्रिकको मद्दतले बार्सिलोनाले भिल्लारियललाई ४–१ ले पराजित गर्यो। बार्सिलोनाको अर्को गोल रोबर्ट लेवान्डोव्स्कीले गरे भने भिल्लारियलका लागि पापे गुएयेले एक गोल फर्काए।
यस जितसँगै बार्सिलोनाले चिरप्रतिद्वन्द्वी रियल मड्रिडसँगको अंक दूरी ४ मा पुर्याएको छ। २६ खेलमा २१ जित र १ बराबरीसहित बार्सिलोनाको ६४ अंक पुगेको छ। २५ खेल खेलेको रियलको ६० अंक छ।
आगामी सोमबार (३ मार्च) रियलले घरेलु मैदानमा गेटाफेसँग खेल्नेछ। भिल्लारियल ५१ अंकसहित तेस्रो स्थानमा छ। खेलको २८औं मिनेटमा यमलले पहिलो गोल गरे। गुएयेबाट बल खोसेर फर्मिन लोपेजले दिएको पासलाई उनले बायाँ पोस्टभित्र सटिक प्रहार गर्दै जाली चुमाए।
त्यसको ९ मिनेटपछि उनले व्यक्तिगत कौशल प्रदर्शन गर्दै अग्रता दोब्बर पारे। दायाँ विंगबाट आएको लामो पास नियन्त्रणमा लिएर उनले सर्ही कार्डोना र आल्भारो मोलेइरोलाई छक्याउँदै सानदार कर्लिङ सटमार्फत बल जालीको माथिल्लो कुनामा पठाए।
४९औं मिनेटमा गुएयेले नजिकबाट गोल गर्दै अन्तर घटाए। तर, भिल्लारियलले बराबरीका अवसर गुमाउँदा ठूलो मूल्य चुकाउनुपर्यो। ६९औं मिनेटमा काउन्टर आक्रमणबाट यमलले आफ्नो ह्याट्रिक पूरा गरे।
आफ्नो दोस्रो गोलबारे उनले भने, ‘जब बल मेरो खुट्टामा हुन्छ, म कुन दिशामा जाने निर्णय गर्छु। डिफेन्डर एकातिर जान प्रतीक्षा गरें र म अर्कोतिर मोडिएँ।’
१८ वर्ष २३० दिनको उमेरमा उनले करिअरको पहिलो ह्याट्रिक गरे। स्पेनिस तथ्यांकअनुसार पछिल्ला ५९ वर्षयता ला लिगामा सबैभन्दा कम उमेरमा ह्याट्रिक गर्ने खेलाडी बनेका छन्। समग्रमा ला लिगा इतिहासमा १९ वर्षभन्दा कम उमेरमा ह्याट्रिक गर्ने छैटौं खेलाडी हुन्।
यसअघि बार्सिलोनाबाट सबैभन्दा कम उमेरमा ह्याट्रिक गर्ने कीर्तिमान मेसीको नाममा थियो। उनले १९ वर्ष २५९ दिनको उमेरमा ह्याट्रिक गरेका थिए।
इन्जुरी समयको थप समयमा मैदान प्रवेश गरेका लेवान्डोव्स्कीले टोलीको चौथो गोल गरे। जुल्स कुन्डेको दायाँतर्फबाट आएको लो क्रसलाई उनले सजिलै ट्याप–इन गर्दै जालीमा पुर्याए।
खेलपछि यमलले व्यक्तिगत र टोलीगत सफलताप्रति खुशी व्यक्त गरे। उनले भने,‘भिल्लारियल निकै बलियो टोली हो, जो लिगमा तेस्रो स्थानमा छ। हाम्रो जित र मेरो गोलप्रति म धेरै खुसी छु।’







-1772330907302.webp&w=3840&q=75)

-1772330189385.webp&w=3840&q=75)


