पुलिसले शीर्षस्थानको एपीएफलाई रोक्यो

काठमाडौं। विभागीय डर्बीमा नेपाल पुलिस फुटबल क्लबले राष्ट्रिय लिगमा नेपाल एपीएफ फुटबल क्लबलाई बराबरीमा रोकेको छ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शनिबार सम्पन्न खेलमा एपीएफ र पुलिसले २–२ गोलको बराबरी गर्दै अंक बाँडेका हुन्। एपीएफको यो दोस्रो बराबरी हो। लिगमा एपीएफले ८ खेल खेल्दै २० अंक जोडेर शीर्षस्थानमै छ।
पुलिसको पनि यो दोस्रो बराबरी हो। समान खेलबाट पुलिसको ८ अंक छ। खेलको पाँचौं मिनेटमा एपीएफका सुरज गुरुङले गरेको लामो प्रहार गोल पोष्टको माथिबाट बाहिरियो।
त्यसको पाँच मिनेटपछि प्रदीप लामाको गोलमा एपीएफले सुरुआती अग्रता लियो। तर, एपीएफले आफ्नो अग्रता लामो समय जोगाउन सकेन। २७ औं मिनेटमा शिशिर चौधरीले गोल गर्दै पुलिसलाई १–१ को बराबरीमा ल्याए। उनले रामचन्द्र वाजीको क्रसमा बललाई गति दिएका हुन्।
६०औं मिनेटमा प्रदीपले व्यक्तिगत दोस्रो गोल गर्दै एपीएफलाई पुन: अग्रता दिलाए। उनले रिबाउन्डमा आएको बलबाट गोल गरेका हुन्। ८८ औं मिनेटमा ओशेन्द्र कटुवालले उत्कृष्ट गोल गर्दै पुलिसलाई हारबाट जोगाए।







-1772193235805.webp&w=3840&q=75)




