फाकुनले मच्छिन्द्रलाई हराए

काठमाडौं। अब्योमी ओलुवासेउन फाकुनको गोलसँगै चर्च बोइजले राष्ट्रिय लिगमा संघर्षपूर्ण जित निकालेको छ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शनिबार सम्पन्न खेलमा चर्च बोइजले मच्छिन्द्र फुटबल क्लबलाई १–० ले पराजित गरेको हो। चर्च बोइजको यो पाँचौं जित हो। लिगमा ७ खेल खेलेको चर्च बोइजले १६ अंक जोडेको छ।
मच्छिन्द्रको भने पहिलो हार हो। समान खेलबाट मच्छिन्द्रको पनि १६ अंक छ। खेलको आठौं मिनेटमा चर्च बोइजका मिलन राईले गरेको प्रहारलाई मच्छिन्द्रको गोलकिपर विशाल श्रेष्ठले उत्कृष्ट बचाउ गरे।
त्यस्तै, ३८औं मिनेटमा मच्छिन्द्रका प्रदीप बुढाथोकीले चर्च बोइजका गोल किपर दीप श्रेष्ठविरुद्ध वान भर्सेस वानको अवस्थामा गोल गर्न नसक्दा खेलमा अग्रता लिने अवसर गुमाए।
७३औं मिनेटमा फाकुनले गोल गर्दै चर्च बोइजलाई १–० को अग्रता दिलाए। ८६ औं मिनेटमा चर्च बोइजका रिचार्ड कोफी जुनियर विल्सनले पेनाल्टी भित्रबाट गरेको प्रहार गोल पोष्टको बायाँपट्टीको पोल छोएर बहिरियो।











-1772193235805.webp&w=3840&q=75)
