लगातार जित निकाल्दै रुकुम पश्चिम क्वार्टरफाइनलमा
सोमबार, १४ पौष २०८२खेलपाटी संवाददाता

काठमडौं। लगातार दोस्रो जित निकाल्दै रुकुम पश्चिम भलिबल ट्रेनिङ सेन्टर नवौं एनभीए महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिपको क्वार्टरफाइनलमा प्रवेश गरेको छ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा सोमबार सम्पन्न समूह ‘सी’को खेलमा जावलाखेल भलिबल क्लबलाई ३–१ को सेटमा पराजित गर्दै अन्तिम ८ मा स्थान बनाएको हो।
जितसँगै रुकुमले ६ अंक पुर्यायो। पहिलो खेलमा रुकुमले बुढानिलकण्ड भलिबल क्लबलाई ३–० को सोझो सेटमा पराजित गरेको थियो।
जावलाखेलको भने यो पहिलो खेल हो। पहिलो सेट २५–२० ले जितेको रुकुमले अर्को सेटमा पनि २५–१८ ले हात पार्यो।
तर, तेस्रो सेटमा भने जावलाखेलले पुनरागमन गर्दै खेल २५–२२ ले आफ्नो पक्षमा पार्दै एक सेट लम्ब्यायो।
चौथो सेटमा भने जावलाखेलले चुतौती दिन सकेन र खेल २५–१८ ले गुमायो।












