EXCLUSIVE : सदस्य सचिव बन्न २१ जनाको निवेदन, सन्ज्यालसमेत दौडमा
%20(2)-1765947464452.png&w=3840&q=75)
काठमाडौं। कर्णाली प्रदेश खेलकुद विकास परिषद्को रिक्त सदस्यसचिव पदका लागि निवर्तमान सदस्यसचिव विश्वमित्र सन्ज्याल २१ जनाले निवेदन दिएका छन्। कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयले माग गरेको सूचनाअनुसार इच्छुक उम्मेदवारहरूले दरखास्त पेश गरेका हुन्।
कर्णाली प्रदेश सरकारले गत मंसिर ९ गते सूचना प्रकाशित गर्दै १५ दिनभित्र योग्य उम्मेदवारलाई आवेदन दिन आह्वान गरेको थियो। सदस्यसचिव पद करिब एक वर्षदेखि रिक्त रहँदै आएको अवस्थामा प्रदेश सरकारले नियुक्ति प्रक्रिया अघि बढाएको हो।
सदस्यसचिव नहुँदा दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजनालाई लिएर प्रदेश सरकारको प्रतिबद्धतामाथि प्रश्न उठ्दै आएको थियो। सरकारले दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता आगामी फागुन १ गतेदेखि ७ गतेसम्म कर्णाली प्रदेशमै आयोजना गर्ने निर्णय गरिसकेको छ। प्रतियोगिता प्रदेशमै आयोजना हुने भएकाले पनि आगामी सदस्यसचिवलाई विशेष महत्त्वका साथ हेरिएको छ।
सदस्यसचिव पदका लागि दरखास्त दिनेहरूमा चेतनराज गिरी, हेमा खड्का, प्रमोद हमाल, प्रभात थापा, दिलिप बस्याल, घनश्याम पाण्डे, जगतप्रसाद रिजाल, केशरबहादुर रोकाया, टंकप्रसाद गैरे, पंखबहादुर मल्ल, मनराज शाही, दिपक हमाल, पदम वन, जगत प्याकुरेल, गणेश खनाल, गणेशबहादुर शाही, रेशमबहादुर गुरुङ, रविन्द्र चन्द, पवनकुमार थापा, विश्वमित्र सन्ज्याल र लिलाप्रसाद ढकाल रहेका छन्।
निवर्तमान सदस्यसचिव सन्ज्यालले समेत अनलाइनमार्फत पुनः सदस्यसचिव पदका लागि निवेदन दिएका छन्। यसैगरी दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि कर्णाली प्रदेशको खेलकुद पूर्वाधार निर्माणको नेतृत्व गरेका सन्ज्याल पनि सदस्यसचिवको दौडमा रहेका छन्। सन्ज्यालको नेतृत्वमा प्रदेशमा खेलकुद पूर्वाधार निर्माणतर्फ उल्लेखनीय उपलब्धि हासिल भएको छ।
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारीका लागि प्रदेश सरकारले ३ अर्ब रुपैयाँभन्दा बढीको लगानीमा नयाँ रंगशालासहित अधिकांश खेलकुद पूर्वाधार निर्माण गरिसकेको छ। आगामी दिनमा नियुक्त हुने सदस्यसचिवले यी संरचनाको प्रभावकारी उपयोग र प्रतियोगिताको सफल आयोजना सुनिश्चित गर्न महत्त्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।














