जेम्स थन्डरबोल्ट्स बन्यो स्कुल च्याम्पियन

काठमाडौं। जेम्स थन्डरबोल्ट्स शनिबार आयोजित फाइनलमा एलए स्नो लियोप्यार्ड्समाथि ४–३ को रोमान्चक जित रच्दै नेपाल स्कुल फुटबल लिग (एनएसएफएल) च्याम्पियन भएको छ।
जेम्स स्कुलको धापाखेलस्थित मैदानमा दोस्रो हाफको अन्त्यतिर मैदान प्रवेश गरेका आर्यन अमात्यले निर्धारित ८० मिनेटको खेलको इन्ज्युरी समयमा निर्णायक गोल गर्दै घरेलु टिमलाई उपाधि दिलाएका हुन्।
योसँगै थन्डरबोल्ट्सले लिटिल एन्जल्स स्कुलको टिम स्नो लियोप्यार्ड्सविरुद्ध लिग चरण र क्वालिफायरमा बेहोरेको हारको बदला पनि लियो।
फ्लडलाइट्समा खेलाइएको फाइनलमा ग्रेमन श्रेष्ठको दुई तथा सप्रित शेर्पाको एक गोलसँगै थन्डरबोल्ट्सले ३४ मिनेटभित्रै ३–० को अग्रता लिँदै उत्कृष्ट सुरुआत गरेको थियो। एलएका देवराज कटवालले पहिलो हाफमा एक गोल गरे। दोस्रो हाफमा अनुप खत्रीले दुई गोल गरेपछि एलएले ६५ औं मिनेटमा ३–३ को बराबरी गरेको थियो।
तर, इन्ज्युरी समयमा आर्यनलाई रोक्न नसक्दा एलए उपाधि कब्जा गर्न असफल रह्यो। प्रतियोगितामा यो उनको नवौं गोल हो। थन्डरबोल्ट्स डेभ्लोप्मेन्ट सेन्टरद्वारा आयोजित यू १८ स्तरको प्रतियोगिता भएपनि फाइनल अनुशासित देखिएन। पहेँलो नौ र रातो एक कार्ड देखाइएको खेलमा ६ वटा कार्ड पाहुना टिमले पाएको थियो।
करिब तीन महिना सञ्चालित प्रतियोगितामा आठ स्कुलका टिम सहभागी थिए। एलएले लिग चरणका सातै खेल जितेको थियो भने जेम्सले ५ जित, १ बराबर र १ हारको नतिजा निकालेको थियो। रातो बंगलाको रेड पान्डाज र डीएभीको सुपर डँफेज प्ले–अफसम्म पुगेका थिए।
च्याम्पियन थन्डरबोल्ट्सले ५ लाख रुपिया, आकर्षक ट्रफी र मेडल हात पार्यो भने उपविजेता एलए स्नो लियोप्यार्ड्सले २ लाख ५० हजार प्राप्त गर्यो। कुल ९ खेलमा १७ गोल गरेका अनुप खत्री सर्वाधिक गोलकर्ताको अवार्ड जिते। देवराज कटवालले मोस्ट भ्याल्युएबल अवार्ड हात पारे। दुवै खेलाडी एलएका हुन्।












-1762660030983.webp&w=3840&q=75)


-1762650963668.webp&w=3840&q=75)