एन्जीको अलराउन्ड प्रदर्शनसँगै रुपन्देहीको जित

बुटवल। एन्जी पाठकको अलराउन्ड प्रदर्शनसँगै रुपन्देही जिल्ला महिला क्रिकेट टिमले मैत्रीपूर्ण खेलमा परासी जिल्ला महिला क्रिकेट टिमलाई पराजित गरेको छ।
परासी जिल्ला क्रिकेट संघको आयोजनामा सम्पन्न खेलमा रुपन्देही ३४ रनले पराजित गरेको हो।
रुपन्देहीले दिएको १३३ रनको लक्ष्य पछ्याउँदै मैदान उत्रिएको परासीले निर्धारित २० ओभरमा ९७ रन मात्र बनाउन सक्यो। परासीकी सरस्वती पुनले सर्वाधिक ३० रन बनाइन्। वर्षा मगरले १५ रनको योगदान दिइन्।
रुपन्देहीका सन्ध्या चापागाईं र एन्जी पाठकले समान २/२ विकेट हात पार्दै टोलीको जितमा महत्त्वपूर्ण भूमिका खेले।
त्यसअघि भूमहीस्थित क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको रुपन्देहीले निर्धारित २० ओभरमा १३२ रन बनाएको थियो। रुपन्देहीका श्रुति बुढाथोकीले उत्कृष्ट प्रदर्शन गर्दै ३८ रन बनाइन्। एन्जी पाठकले २९ रनको महत्त्वपूर्ण योगदान दिइन्। त्यसैगरी आश्मा पुलामी मगरले १२ रन जोडिन्।
परासीका अनुश्का खत्री २ विकेट लिन सफल भइन्। उक्त खेलले महिला क्रिकेटप्रति खेलाडी तथा दर्शक दुवैको उत्साह अझ बढाएको बताउँदै परासी जिल्ला क्रिकेट संघका अध्यक्ष कृष्ण श्रेष्ठले परासी जिल्लाले महिला क्रिकेट प्रतियोगितालाई समेत विशेष प्राथमिकता दिइरहेको जानकारी दिए।














