कीर्तिमानी उपाधितर्फ पीएसजी

काठमाडौं। डिजिरे डुएले खेलको अन्तिम समयमा गरेको गोलको मद्दतमा पेरिस सेन्ट–जर्मेन (पीएसजी)ले आइतबार घरेलु मैदानमा ब्रेस्टमाथि १–० को जित निकालेको छ। यससँगै पीएसजीले कीर्तिमानी १४औं लिग १ उपाधि लगभग सुनिश्चित गरेको छ।
पीएसजी दोस्रो स्थानको लेन्सभन्दा ६ अंकले अगाडि छ। बुधबार हुने पुनःनिर्धारित खेलमा बराबरी गरे मात्र पनि पीएसजी च्याम्पियन बन्नेछ। त्यसपछि अर्को आइतबार अन्तिम चरणका खेलहरू हुनेछन्।
यदि पीएसजीले बाँकी दुवै खेल हार्यो र लेन्सले आफ्ना दुवै खेल जित्यो भने मात्र गोलअन्तरका आधारमा लेन्स च्याम्पियन बन्न सक्छ। तर, पीएसजीको गोलअन्तर ४४ रहेको छ भने लेन्सको २९ मात्र छ।
पार्क दे प्रिन्स स्टेडियममा वर्षासहित भएको खेलको ८३औं मिनेटमा डुएले पेनाल्टी क्षेत्रको बायाँ भागबाट बल नियन्त्रण गर्दै तीन खेलाडीलाई छलाएर शानदार प्रहार गरे। उनको प्रहार पोस्टको दायाँ कुनामा जाँदा पीएसजीले निर्णायक गोल पाएको थियो।
पहिलो हाफमा रेफ्री जेरोम ब्रिसार्ड र उनका सहायकबीच सञ्चार प्रणालीमा समस्या आएपछि खेल केहीबेर रोकिएको थियो।
लेन्सले शुक्रबार नान्टलाई १–० ले हराउँदै अर्को सिजनको च्याम्पियन्स लिगमा स्थान सुनिश्चित गरेको छ। यस हारसँगै आठ पटकको फ्रेन्च च्याम्पियन नान्ट लिग २ मा घटुवा भएको छ।












