घाइते बार्सिलोना !
-1761464835584.webp&w=3840&q=75)
काठमाडौं। राफिन्हा बार्सिलोनाको चोटग्रस्त खेलाडी सूचीमै रहने भएका छन् र लेफ्ट–ब्याक जुल्स कुन्डे पनि आइतबारको एल क्लासिको खेल्ने नखेल्ने अझै निश्चित भइसकेको छैन। उता, ट्रेन्ट एलेक्जेन्डर–अर्नोल्ड भने रियल मड्रिडबाट खेल्न तयार भएका छन्।
लिभरपुलका पूर्वस्टार अर्नोल्डले गत सेप्टेम्बरको मध्यतिर बाँया ह्यामस्ट्रिङमा चोट बोकेका थिए। त्यसयता पहिलोपटक मुख्य प्रशिक्षक जाबी अलोन्सोले उनलाई मड्रिडको खेलाडी सूचीमा समावेश गरेका छन्। यससँगै मड्रिडको चोटग्रस्त सूचीमा अब एन्टोनियो रोडिगर मात्र छन्।
बार्सिलोना पहिले नै रोबर्ट लेवान्डोव्स्की, डानी ओल्मो र पहिलो रोजाइका गोलकिपर जोआन गार्सियाबिना मैदानमा उत्रिने तयारीमा छ। ‘अवश्य म सबै खेलाडी उपलब्ध भएको हेर्न चाहन्थें। प्रशिक्षक र टोली पनि त्यही चाहन्छ,’ बार्सिलोना मिडफिल्डर पेड्रीले भने,‘तर जो फिट छन्, हामी सबै तीन अंकका लागि पूरा प्रयास गर्नेछौं।’
राफिन्हा सेप्टेम्बरको अन्त्यमा दायाँ खुट्टामा चोट लागेपछि एक महिनादेखि बाहिर छन्। प्रशिक्षक हान्सी फ्लिकले उनी क्लासिकोका लागि फिर्ता हुने अपेक्षा राखेका थिए। तर, सहायक प्रशिक्षक मार्कस सर्गले खेलअघि नै ब्राजिली विंगर टोलीमा नरहने पुष्टि गरेका छन्।
यससँगै बार्सिलोनाले आफ्नो दुई शीर्ष स्कोरर राफिन्हा र लेवान्डोव्स्की दुबैलाई गुमाउने भएको छ। गत सिजनको यस्तै खेलमा यी दुईले मिलेर बार्सिलोनाको ४–० को जितमा ३ गोल गरेका थिए।
अग्रपंक्तिमा अन्य विकल्प
सर्गका अनुसार स्पेनी फरवार्ड फेरान टोरेस पनि मांसपेशीको चोटबाट पूर्ण रूपमा निको भएका छैनन्। त्यसैले उनी सुरुआती रोजाइमा नपर्न सक्छन्। त्यसैले उनले लामिन यमलसँगै अगाडि मार्कस रासफोर्ड, रूनी बार्डग्जी वा उत्कृष्ट फर्ममा रहेका फेर्मिन लोपेजलाई फाल्स नाइनको भूमिकामा प्रयोग गर्ने सम्भावना रहेको बताए।
कुन्डेले च्याम्पियन्स लिगमा ओलिम्पियाकोसविरुद्ध ६–१ को जितपछि दुई प्रशिक्षण सत्र गुमाएका थिए। शनिबार उनी प्रशिक्षणमा फर्किए पनि सर्गले भने,‘हामी अन्तिम क्षणसम्म पर्खनेछौं।’
सर्गले यसपटक निलम्बित प्रशिक्षक फ्लिकको ठाउँमा टचलाइनमा टोलीलाई निर्देशन दिनेछन्। हाल लिग तालिकामा रियल ९ खेलपछि बार्सिलोनाभन्दा दुई अंकले अघि शीर्ष स्थानमा रहेको छ।








-1761446241647.webp&w=3840&q=75)
copy-1761474438174.jpg&w=3840&q=75)
-1761469666142.jpg&w=3840&q=75)

