भारतमा दुई महिला क्रिकेटरलाई शारीरिक दुर्व्यवहार

काठमाडौं। भारतमा जारी महिला क्रिकेट विश्वकप खेल्न पुगेका अस्ट्रेलिया महिला क्रिकेट टिमका दुई खेलाडी इन्दौरमा शारीरिक दुर्व्यवहार (श्लीलताहानी) को सिकार भएका छन्।
घटना बिहीबार साँझको हो। ती दुई खेलाडी टिम होटलबाट नजिकको क्याफेतर्फ हिँडिरहेका थिए। स्थानीय प्रहरीका अनुसार एक मोटरसाइकल चालकले उनीहरूलाई अनुचित रूपमा छोएको आरोप छ।
दुवै खेलाडीले तुरुन्तै टिमका सुरक्षा प्रमुख ड्यानि सिमोन्सलाई जानकारी दिएका थिए। सिमोन्स घटनास्थलमा पुगेपछि एमआईजी प्रहरी चौकीमा उजुरी दर्ता गरेका हुन्।
क्रिकेट अस्ट्रेलिया (सीए) ले विज्ञप्ति जारी गर्दै भनेको छ,‘इन्दौरमा क्याफेतर्फ हिँड्दै गर्दा अस्ट्रेलिया महिला टोलीका दुई सदस्यलाई एक मोटरसाइकल चालकले अनुचित रूपमा छोएको पुष्टि भएको छ। सुरक्षाकर्मीहरूले तुरुन्तै प्रहरीलाई जानकारी दिएका छन् र अहिले प्रहरीले यस विषयमा अनुसन्धान गरिरहेको छ।’
उजुरीपछि सहायक प्रहरी आयुक्त हिमानी मिश्राले दुवै खेलाडीलाई भेटेर बयान लिएकी छन्। प्रहरीले शुक्रबार आरोपित व्यक्तिलाई पक्राउ गरेको जनाएको छ। सबस–इन्स्पेक्टर निधि रघुवंशीका अनुसार दुवै खेलाडी सडक हुँदै क्याफेतर्फ जाँदै गर्दा मोटरसाइकल चालकले उनीहरूलाई अनुचित रूपमा छोएको थियो।
यो घटना अस्ट्रेलियाले इङ्ल्यान्डलाई पराजित गरेपछि भएको हो। प्रतियोगितामा अस्ट्रेलिया अहिलेसम्म अपराजित रहेको छ। उनीहरूले पाँच खेल जितेका छन् र एउटा खेल वर्षाका कारण परित्यक्त भएको थियो। शुक्रबार उनीहरू दक्षिण अफ्रिकाविरुद्ध अन्तिम लिग खेल खेल्दैछन्।
११ अंकसहित अस्ट्रेलिया टपमा छ। दक्षिण अफ्रिका (१० अंक) दोस्रो स्थानमा छ। भारत र इङ्ल्यान्ड पनि सेमिफाइनलमा पुगिसकेका छन्।









-1761410041277.webp&w=3840&q=75)




