नेपाल कबड्डी लिगमा बढ्दो आकर्षण

काठमाडौं। नेपाल कबड्डी लिग (एनकेएल) मा खेलाडीहरूको आकर्षण उल्लेखनीय रूपमा बढेको छ। सिजन–२ का लागि ५१२ जना नेपाली खेलाडीले ड्राफ्टमा सहभागी हुन दर्ता गरेका छन्।
एनकेएलका आयोजक एस्ट्रोनिक्स म्यानेजमेन्टका प्रमुख अमितकुमार बेगानीका अनुसार पहिलो सिजनमा २७८ जना नेपाली खेलाडी मात्र दर्ता भएका थिए।
उनले भने,‘लिगप्रतिको आकर्षण र खेलाडीको उत्साह दुवैमा ठूलो वृद्धि भएको देखाएको छ।’ पहिलो सिजनको ड्राफ्टमा २७८ जना नेपाली खेलाडी एनकेएलमा दर्ता भएका थिए । दोस्रो सिजनको लागि खोलिएको आवेदनबाट ५१२ स्वदेशी खेलाडी दर्ता भएका छन् । त्यसैले
सिजन–२ का लागि दर्ता भएका खेलाडीमध्ये बागमती प्रदेशका सबैभन्दा बढी १५५ जना छन्। त्यसपछि सुदूरपश्चिमका १०३, लुम्बिनीका ९८, मधेशका ७०, कोशीका ३५, कर्णालीका २७ र गण्डकीका २४ खेलाडी रहेका छन्।
गत वर्ष सम्पन्न पहिलो सिजनमा ६ सहरका ६ टिमले ड्राफ्टमार्फत् ८४ खेलाडी चयन गरेका थिए, जसमा ६६ जना नेपाली थिए।
बेगानीका अनुसार विदेशी खेलाडीहरूको चासो पनि झन् बढेको छ। ‘धेरै देशका खेलाडीले एनकेएल खेल्ने इच्छा व्यक्त गरेका छन्। दोस्रो सिजनका लागि हामीले ४०–५० जना विदेशी खेलाडी लिने योजना बनाएका छौं, जसमा उच्च स्तरका खेलाडी हुनेछन्,’ उनले बताए।
पहिलो सिजनमा थाइल्यान्ड, बंगलादेश, श्रीलंका र केन्या गरी चार देशका १८ खेलाडीले एनकेएलमा भाग लिएका थिए। नेपालको कबड्डी इतिहासमै पहिलो पटक फ्रेन्चाइज प्रणालीमा आयोजित एनकेएलको सिजन–१ सन् २०२५ जनवरी १७ देखि ३१ सम्म भव्य रूपमा सम्पन्न भएको थियो।
विराटनगर ब्यान्डिट्स, जनकपुर नाइट्स, काठमाडौं माभरिक्स, पोखरा लेकर्स, बुटवलको हिमालयन रेइडर्स र धनगढी वाइल्डक्याट्स गरी ६ टिमले प्रतिस्पर्धा गरेका थिए।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप)को कभर्डहलमा भएको रोमाञ्चक फाइनलमा काठमाडौंलाई ४३–४१ ले पराजित गर्दै जनकपुर नाइट्सले उपाधि जितेको थियो।
त्यस सिजनका दुई कप्तान काठमाडौंका घनश्याम मगर र हिमालयन रेइडर्सका गणेश पार्की अहिले भारतको प्रो कबड्डी लिग (पीकेएल) सिजन १२ मा व्यस्त छन्।
सिजन–२ को ड्राफ्ट र प्रतियोगिताको मिति चाँडै सार्वजनिक गरिने आयोजकले जनाएको छ।