अल्मुताइरीको टोलीको दोस्रो जित
Title

काठमाडौं। नेपाली राष्ट्रिय टोलीका पूर्वप्रशिक्षक अब्दुल्ला अल्मुताइरीको प्रशिक्षणमा रहेको श्रीलंकाले एएफसी एसियन कप छनोट २०२७ मा दोस्रो जित निकालेको छ।
रेस कोर्स इन्टरनेसनल स्टेडियममा बिहीबार सम्पन्न तेस्रो चरणको खेलमा तुर्कमेनिस्तानलाई १–० ले हराउँदै महत्त्वपूर्ण जित हात पारेको हो। श्रीलंकाका लिओन पेरेराले निर्णायक गोल गर्दै तुर्कमेनिस्तानलाई पराजित गरे। उनले ६७औं मिनेटमा एक मात्रै गोल गरेका हुन्।
तुर्कमेनिस्तान फिफा वरीयतामा श्रीलंकाभन्दा ५९ स्थान माथि रहेको टोली हो। तुर्कमेनिस्तान १३८ र श्रीलंका १९७औं स्थानमा छ। यसअघि श्रीलंकाले १७३औं स्थानको चाइनिज ताइपेईलाई ३–१ ले पराजित गरेको थियो।
यो जितसँगै श्रीलंका समूह ‘डी’ मा दोस्रो स्थानमा उक्लिएको छ। तीन खेलबाट दुई जितसहित उसले ६ अंक जोडेको छ। तुर्कमेनिस्तान भने समान तीन खेलमा ६ अंकसहित शीर्ष स्थानमा छ। तर, गोल अन्तरमा अगाडि छ।
त्यसै समूहमा थाइल्यान्ड र चाइनिज ताइपे क्रमशः तेस्रो र चौथो स्थानमा छन्। थाइल्यान्डको पनि समान ६ अंक रहँदा चाइनिज ताइपेई अंकविहीन छ।