मंगलबारे सेमिफाइनलमा

पथरी। मंगलबारे फुटबल क्लब चौथो सिरीजंघा खुला नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ।
मोरङको पथरीशनिश्चरेमा जारी प्रतियोगितामा मंगलबारेले सुनौलो कल्याण स्पोर्टिङ क्लबलाई ४–२ ले पराजित गरेको हो। मंगलबारेका लागि खेलको नवौं मिनेटमा सनम भुजेलले पहिलो गोल गरे।
उनले १९औं मिनेटमा पेनाल्टीमार्फत दोस्रो गोल थपे। त्यसपछि २२औं मिनेटमा तेन्जिङ तामाङले गोल गर्दै टोलीको अग्रता फराकिलो बनाए। दोस्रो हाफको २४औं मिनेटमा समीर तामाङले चौथो गोल गर्दै जित सुनिश्चित गरे।
सुनौलो कल्याणका लागि १६औं मिनेटमा आशीष लावतीले पेनाल्टीमार्फत पहिलो गोल गरे। दोस्रो हाफको २२औं मिनेटमा सन्दीप तुम्रोकले अर्को गोल फर्काए। खेलको ‘म्यान अफ द म्याच’ मंगलबारेका तेन्जिङ तामाङ घोषित भए।
प्रतियोगिताअन्तर्गत बिहीबारको खेल नलवारी युथ क्लब, दमक र यलम्वर युथ क्लब, पथरीबीच हुने आयोजकले जनाएको छ।