अल्बाको सन्न्यासले भावुक बने मेसी

काठमाडौं। केही दिनअघि मात्रै सर्जियो बुस्केट्सले आफ्नो व्यवसायिक खेल करिअरबाट सन्न्यासको घोषणा गरेका थिए।
अब इन्टर मियामी तथा स्पेनका अर्का अनुभवी खेलाडी जोर्डी अल्बा पनि आफ्ना पुराना साथी बुस्केट्सको बाटोमा हिँड्दै छन्।
मेजर लिग साकर (एमएलएस) को यो सिजन समाप्त भएपछि अल्बा व्यावसायिक फुटबल करिअरबाट सन्न्यास लिन लागेका छन्।
बुधबार उनले इन्स्टाग्राममार्फत आफ्नो निर्णयको घोषणा गरेका हुन्। अल्बाले लेखेका छन्, ‘मेरो जीवनको अत्यन्त अर्थपूर्ण अध्यायलाई अन्त्य गर्ने समय आएको छ। यो सिजनको अन्त्यसँगै म आफ्नो व्यावसायिक फुटबल करिअरलाई समाप्त गर्ने निर्णयमा पुगेको छु। पूर्ण आत्मविश्वास, शान्ति र आनन्दका साथ यो निर्णय लिएको हुँ।’
३६ वर्षीय अल्बाले स्पेनका लागि २०१२ को युरो जितेका थिए। सोही वर्ष बार्सिलोनामा आबद्ध भएपछि उनले सम्भव भएका सबै उपाधि जितेका थिए। उनले ६ पटक ला लिगा, ५ पटक कोपा डेल रे, ४ पटक स्पेनी सुपर कप, एक पटक युएफा च्याम्पियन्स लिग, एक–एक पटक क्लब वर्ल्ड कप र युईएफए सुपर कप जितेका थिए।
२०२३ मा उनले बार्सिलोनाबाट बिदा लिँदै मियामीमा लिओनल मेसी, लुइस सुआरेज र बुस्केट्ससँग पुनर्मिलन गरेका थिए। स्पेनका लागि ९३ खेल खेलेका अल्बाले ९ गोल गरेका थिए।
उनले सन्न्यास घोषणा गरेसँगै मेसीलाई पनि भावुक बनेका छन्। बार्सिलोना र मियामी दुवै क्लबमा सँगै खेल्दै आएका यी दुई खेलाडीबीच गहिरो मित्रता रहिआएको छ।
दुबैजना मिलेर कुल ४१३ खेल खेलेका छन्। अल्बाको बिदाइमा मेसीले लेखेका छन्, ‘जोर्डी, धन्यवाद! म तिमीलाई निकै मिस गर्नेछु। यतिका वर्ष सँगै खेलें। अब बायाँपट्टि हेर्दा तिमीलाई नदेख्दा अचम्म लाग्नेछ… यी वर्षहरूमा तिमीले मलाई दिएका असंख्य असिस्टहरू अविश्वसनीय छन्! अब मेरो पास फिर्ता दिने को होला?’













