आयोजकलाई स्तब्ध पार्दै सप्तरंगी सेमिफाइनलमा

पथरी (मोरङ) । आयोजकलाई स्तब्ध पार्दै पाहुना टोली सप्तरंगी फुटबल क्लब (कानेपोखरी) चौथो सिरीजंघा फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ।
मोरङको पथरीशनिश्चरेमा सुरु भएको प्रतियोगिताअन्तर्गत मंगलबार सम्पन्न उद्घाटन खेलमा सप्तरंगीले आयोजक सिरीजंघा फुटबल क्लबलाई २–० गोलअन्तरले पराजित गरेको हो। खेलमा आयोजक टोली सुरुआतदेखि नै दबाबमा परेको थियो।
पहिलो हाफको १२औं मिनेटमा आयोजकका जुनियर सावाको आत्मघाती गोलका कारण सप्तरंगीले अग्रता लियो। कर्नरबाट आएको बल रोक्ने प्रयासमा सावाको हेडर गोलपोस्टभित्र गएपछि घरेलु दर्शक स्तब्ध बनेका थिए।
पहिलो हाफमा एक गोलले पछि परेको आयोजकले दोस्रो हाफमा खेलमा फर्कने प्रयास गरेको थियो। तर, सप्तरंगीको रक्षात्मक खेलले त्यस अवसर प्रदान गरेन। दोस्रो हाफको २०औं मिनेटमा निकेश राईले काउन्टर अट्याकमार्फत उत्कृष्ट गोल गर्दै सप्तरंगीको जित पक्का गरे। खेलको ‘म्यान अफ द म्याच’ सप्तरंगी फुटबल क्लबका हेमन्त मगर घोषित भए।
प्रतियोगिताको दोस्रो दिन अर्थात् बुधबार कल्याण फुटबल क्लब र मंगलबारे फुटबल क्लबबीच प्रतिस्पर्धा हुनेछ। पथरीशनिश्चरे–३ मा रहेको सिरीजंघा फुटबल क्लबले आयोजना गरेको यो प्रतियोगितामा मोरङ र झापाका आठ टिम सहभागी छन्।
असोज २८ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको विजेताले ५० हजार रुपैयाँसहित ट्रफी प्राप्त गर्नेछ भने उपविजेताले २५ हजार रुपैयाँमा चित्त बुझाउनेछ।













