अल्बाले पनि लिए सन्न्यास

काठमाडौं। इन्टर मियामीका डिफेन्डर जोर्डी अल्बाले यस सिजनको मेजर लिग सकर (एमएलएस) प्लेअफ समाप्त भएपछि व्यवसायिक फुटबलबाट सन्न्यास लिने घोषणा गरेका छन्। यससँगै लिओनल मेसीका पुराना सहकर्मीमध्ये यो वर्ष सन्न्यास लिने उनी दोस्रो खेलाडी बनेका छन्।
आल्बाले मंगलबार सामाजिक सञ्जालमार्फत आफ्नो निर्णय सार्वजनिक गरेका हुन्। इन्टर मियामीले गत शनिबार सर्जियो बुस्केट्सलाई बिदाइ गरेको थियो। त्यसको तीन दिनपछि अल्बाले पनि सन्न्यास लिने निर्णय गरेका हुन्। अल्बाको इन्टर मियामीसँगको सम्झौता सन् २०२७ सम्मको थियो।
‘अब मेरो जीवनको एक गहिरो अर्थपूर्ण अध्याय समाप्त गर्ने समय आएको छ,’ अल्बाले लेखेका छन्, ‘यो सिजनको अन्त्यसँगै मैले आफ्नो व्यवसायिक फुटबल यात्राको अन्त्य गर्ने निर्णय गरेको छु। यो निर्णय मैले पूर्ण विश्वास, शान्ति र खुशीका साथ गरेको हुँ। किनभने मैले यो यात्रामा मेरो सम्पूर्ण जोश र प्रेम लगाएँ। अब नयाँ अध्याय सुरु गर्ने र अघिल्लो अध्यायलाई राम्रो भावनासँग बन्द गर्ने उपयुक्त समय यही हो।’
३६ वर्षका अल्बा मेसीले सन् २०२३ को जुन महिनामा इन्टर मियामीमा जाने घोषणा गरेलगत्तै त्यहाँ पुगेका थिए। मेसीको आगमनपछि सबै बार्सिलोनाका पूर्वसहकर्मी बुस्केट्स, लुइस सुआरेज र अल्बा एमएलएस क्लबमा आएका थिए।
बार्सिलोनामा रहँदा अल्बाले क्लबलाई ६ वटा ला लिगा, ५ कोपा डेल रे ट्रफी र सन् २०१५ मा च्याम्पियन्स लिग जिताउन सहयोग गरेका थिए।













