फेरि चोटको चपेटामा रोड्री

काठमाडौं। स्पेनका मिडफिल्डर रोड्रीले विश्वकप छनोटका आगामी दुई खेल गुमाउने भएका छन्।
चोटका कारण जर्जिया र बुल्गेरियाविरुद्धका खेलमा उनी अनुपस्थित रहने स्पेनिस फुटबल महासंघ (आरएफईएफ) ले सोमबार जनाएको हो।
म्यानचेस्टर सिटीका यी मिडफिल्डर आठ महिनाको गम्भीर घुँडाको चोटपछि मे महिनामा मात्र मैदान फर्किएका थिए। तर, आइतबार ब्रेन्टफोर्डविरुद्धको प्रिमियर लिगको खेलमा पहिलो हाफमै उनी फेरि मैदानबाट बाहिरिनुपरेको थियो।
‘यो निर्णय क्लबबाट आरएफईएफको मेडिकल टिमलाई पठाइएको स्वास्थ्य प्रतिवेदनका आधारमा गरिएको हो,’ विज्ञप्तिमा भनिएको छ।
गत हप्ता सिटीका प्रशिक्षक पेप ग्वार्डिओलाले गत वर्ष बलोन डि’ओर जितेका रोड्री अझै पूर्ण रूपमा निको भइनसकेको बताएका थिए। त्यसैले सातामा तीन खेल राड्रीले खेल्न नसक्ने उनले बताएका थिए। घुँडाको चोट निको हुन कम्तीमा एक वर्ष लाग्ने बताइएको थियो।
स्पेनले गत महिना समूह ‘ई’ का दुवै खेल जितेको थियो। अब उनीहरूले यही शनिबार जर्जियासँग र अक्टोबर १४ मा बुल्गेरियासँग घरेलु मैदानमा खेल्नेछन्।