बार्सिलोनामा नै बस्ने भए डी जोङ

काठमाडौं। डच फुटबलर फ्रेन्की डी जोङले अन्ततः औपचारिक रूपमा क्याटलान क्लब बार्सिलोनासँग आफ्नो नयाँ सम्झौता गरेका छन्।
केही दिनदेखि यो विषयमा चर्चा चलिरहेको भए पनि अब बार्सिलोनाले नै आधिकारिक रूपमा नयाँ सम्झौताको घोषणा गरेको हो। नयाँ सम्झौता अनुसार उनी अब सन् २०२९ सम्म बार्सिलोनामै रहनेछन्।
उनको रिलिज क्लज पनि बढाइएको छ। पहिले ४० करोड युरो रहेको क्लज अब बढेर ६० करोड युरो पुगेको छ। उनको सम्झौता सन् २०२६ को जुन महिनासम्मको थियो। त्यसैले उनीसँग अर्को क्लबसँग जनवरीमै प्रारम्भिक सम्झौता गर्ने विकल्प खुला थियो। तर, अन्ततः उनले नयाँ क्लब खोज्ने होइन, बार्सिलोनासँगकै सम्झौता लम्ब्याउने निर्णय गरे।
उनी सन् २०१९ मा डच क्लब आयाक्सबाट बार्सिलोनामा आएका थिए। त्यसयता उनले क्लबको बीचपंक्तिमा आफूलाई अत्यन्तै महत्त्वपूर्ण सदस्यका रूपमा स्थापित गरेका छन्।
अहिलेसम्म उनले बार्सिलोनाका लागि २६७ खेल खेलेका छन्, जसमा उनले १९ गोल र २४ असिस्ट गरेका छन्। उनले क्लबका साथ दुई पटक ला लिगा, दुई पटक कोपा डेल रे र दुई पटक स्पेनिस सुपर कप जितिसकेका छन्।