मेसीको नाममा ‘मेसी कप’ हुने

काठमाडौं। अर्जेन्टिनी सुपरस्टार लिओनल मेसीको नाममा नयाँ फुटबल प्रतियोगिता ‘मेसी कप’ हुने भएको छ। मेसीको उत्पादन कम्पनी ५२५ रोसारियोको सहकार्यमा यो प्रतियोगिता दक्षिण फ्लोरिडामा ९ देखि १४ डिसेम्बरसम्म हुनेछ।
६ दिनसम्म चल्ने यो प्रतियोगितामा आठ क्लब सहभागी हुनेछन्। मेसीको वर्तमान क्लब इन्टर मियामीसँगै पूर्वक्लब बार्सिलोनाले पनि प्रतियोगिता खेल्ने तय भएको छ। यीबाहेक म्यानचेस्टर सिटी, रिभर प्लेट, इन्टर मिलान, न्युएल्स ओल्ड बोइज, एट्लेटिको मड्रिड र चेल्सीले पनि खेल्नेछन्। कुल १८ खेल हुने प्रतियोगिता मियामीको घरेलु मैदान चेस स्टेडियम र फ्लोरिडा ब्लु ट्रेनिङ सेन्टरमा खेलिनेछ।
अमेरिकाको मियामीमा हुन लागेको यो प्रतियोगिताको उद्देश्य विश्वभरका युवा खेलाडीहरूलाई फुटबलमार्फत एक आपसमा जोड्ने रहेको छ। इन्स्टाग्राममा प्रतियोगिताको घोषणा गर्दै मेसीले लेखेका छन्, ‘अन्ततः यो खबर तपाईंहरूसँग बाँड्न पाउँदा खुसी लागेको छ। भविष्यका खेलाडीहरू यहाँ आफ्नो क्षमता देखाउने मौका पाउनेछन्। खेलभन्दा बाहिर पनि थुप्रै रोचक गतिविधिहरू रहनेछन्। यो फुटबल मात्र होइन, नयाँ पुस्ताको कुरा हो।’
प्रतियोगिताको संरचनाअनुसार आठ टोलीलाई दुई समूहमा विभाजन गरिनेछ। पहिलो तीन दिन राउन्ड–रोविन चरणका खेलहरू खेलिनेछन्। त्यसपछि उत्कृष्ट टोली प्लेअफमा प्रवेश गर्नेछन्। अन्तिम दिन चेस स्टेडियममा तेस्रो स्थानको खेल र फाइनल हुनेछ।