विश्वकपमा छनोट हुने अन्तिम टोली बन्यो यूएई

काठमाडौं। जापानलाई आठ विकेटले पराजित गर्दै संयुक्त अरब इमिरेट्स (यूएई) भारत र श्रीलंकामा हुने २०२६ को पुरुष टी–२० विश्वकपको लागि छनोट भएको छ।
यूएई अर्को संस्करणको लागि छनोट हुने अन्तिम तीन टोली हो। एसिया तथा इस्ट एसिया प्यासिफिकबाट यसअघि नै नेपाल र ओमान छनोट भइसकेका छन्।
आयोजक भारत र श्रीलंकाबाहेक आईसीसीका शीर्ष सात टोली अफगानिस्तान, अस्ट्रेलिया, बंगलादेश , इङ्ग्ल्यान्ड, दक्षिण अफ्रिका , संयुक्त राज्य अमेरिका र वेस्ट इन्डिजले आगामी विश्वकपमा स्वतः प्रवेश पाएका छन्। टी–२० आई वरीयताको आधारमा न्यूजील्यान्ड, पाकिस्तान र आयरल्यान्डले पनि आफ्नो स्थान बनाइसकेका छन्।
क्यानडाले अमेरिका छनोटमा सजिलै एक मात्र स्थान सुरक्षित गर्यो। पहिलो पटक विश्वकपमा सहभागी इटालीसँगै नेदरल्यान्ड्सले युरोपमा भएको पाँच टोलीको प्रतियोगिताबाट आफ्नो स्थान बनाए। नामिबिया र जिम्बाब्वेले आठ टोलीको अफ्रिका छनोटबाट दुई स्थान सुरक्षित गरे भने नेपाल, ओमान र यूएईले यस हप्ता नौ टोलीको प्रतियोगिता पार गरेका हुन्।
२०२६ को प्रतियोगिता अघिल्लो संस्करण जस्तै ढाँचामा हुनेछ। २० टोलीहरूलाई चार समूहमा विभाजन गरिनेछ। प्रत्येक टोलीले राउन्ड–रोबिन ढाँचामा एक पटक अन्यसँग खेल्नेछ। प्रत्येक समूहबाट शीर्ष दुई टोली सुपर ८ मा प्रवेश गर्नेछन्।