‘गोल मसिन’ हालान्ड

काठमाडौं। गोल मसिन एर्लिङ हालान्डका हिसाबले पनि यो सिजनको उनको सुरुआत असाधारण रह्यो। नर्वेका स्ट्राइकरले आइतबार ब्रेन्टफोर्डविरुद्ध म्यानचेस्टर सिटीलाई १–० को जित दिलाउँदा निर्णायक गोल गरे। यो जितसँगै उनले प्रिमियर लिगका ६ खेलमा ९ गोल पुर्याए।
क्लब र देशका लागि उनले यो सिजनमा अहिलेसम्म ११ खेलमा १८ गोल गरिसकेका छन्। एक खेलमा मात्र गोल गर्न उनी असफल भएका छन्। २५ वर्षका हालान्डले आफ्नो करिअरमै पहिलो पटक लगातार ९ खेलमा गोल गरेका छन्।
‘मैले अहिलेभन्दा राम्रो महसुस कहिल्यै गरेको छैन,’ हालान्डले भने। जोसको ग्वार्डियोलको लामो पासमा दौडिँदै उनले बल नियन्त्रण गरे र गोलकिपर काओमिन केलेहरको माथि पठाए। ‘सबै कुरा तयारीमा निर्भर गर्छ। शारीरिक मात्र होइन, मानसिक रूपमा पनि तयार हुनुपर्छ,’ उनी भन्छन्।
हालान्डले सिटीका लागि पहिलो सिजनमा ३६, दोस्रो सिजनमा २७ र अघिल्लो सिजनमा २२ गोल गरेका थिए। यो घट्दोक्रम सिटीका लागि चिन्ताको विषय बनेको थियो। तर, यो सिजन उनी पुनः ऊर्जावान देखिएका छन्।
उनी भन्छन्,‘पिता बनेको एक वर्ष भयो, त्यसले मलाई अझ राम्रो बनाएको छ। अब म खेलपछि फुटबलका बारेमा सोच्दिनँ। घर पुग्दा पूर्ण रूपमा आराम गर्छु। सानो बच्चा हुँदा मानिसले धेरै कुरा सोच्ने गर्छ, तर अहिले म धेरै शान्त छु। म आफ्नो छोरालाई धन्यवाद दिन चाहन्छु।’
हालान्डले उत्कृष्ट प्रदर्शन गरे पनि प्रशिक्षक पेप ग्वार्डियोला दंग छन्। तर, उनले टोलीका अन्य खेलाडीहरूबाट पनि गोल अपेक्षा गरिरहेका छन्। ब्रेन्टफोर्डविरुद्ध पहिलो हाफमा सिटीले खेल नियन्त्रणमा राखेको थियो। तर, हालान्डको नवौं मिनेटको गोलपछि थप गोल गर्न सकेन। अन्त्यतिर त घरेलु टोलीको दबाब झेल्नु पर्यो।
ग्वार्डियोला भन्छन्,‘हालान्ड यो सिजन हाम्रो लागि अत्यन्तै महत्त्वपूर्ण छन्। हामीलाई अन्य खेलाडीबाट पनि गोल चाहिएको छ, विङरले अझ बढी गोल गर्नुपर्छ। उनीहरूले एक विरुद्ध एक वा दुईमा अवसर उपयोग गर्नुपर्छ। तर, विस्तारै हामी त्यसतर्फ पुग्नेछौं। अहिले टोलीको स्थिरता राम्रो छ, हामी ठीक हुनेछौं।”
तर, अन्तर्राष्ट्रिय ब्रेकअघि ग्वार्डियोलाको मुख्य चिन्ता भने स्पेनिस मिडफिल्डर रोड्रीको चोट हो। उनले पहिलो हाफमै ह्यामस्ट्रिङ समस्याका कारण मैदान छाड्नुपरेको थियो।
ग्वार्डियोला भन्छन्,‘यो मांसपेशीसम्बन्धी चोट हो, सायद दुई या तीन हप्ताको विश्राम लाग्नेछ। म उनलाई गुमाउन चाहन्नँ, तर परिस्थितिले त्यही माग्छ।’