युनाइटेडलाई चेल्सीले दिलायो राहत
-1758419616900.webp&w=3840&q=75)
काठमाडौं। ओल्ड ट्राफोर्डमा शनिबार भएको प्रिमियर लिगको रोमाञ्चक खेलमा म्यानचेस्टर युनाइटेडले चेल्सीलाई २–१ ले हराउँदै यो सिजनको दोस्रो जित निकालेको छ।
खेलको पहिलो हाफमै दुई खेलाडीले रातो कार्ड पाए भने कोल पाल्मरले चोट बोक्दा खेल निकै नाटकीय बनेको थियो।
खेल सुरु भएको पाँचौं मिनेटमै चेल्सीका गोलरक्षक रोबर्ट सान्चेजले ब्रायन म्बेउमोमाथि फाउल गर्दा सिधै रातो कार्ड खाएर मैदान बाहिरिनुपर्यो। त्यसपछि प्रशिक्षक एन्जो मारेस्काले तुरुन्तै दुईवटा परिवर्तन गरे। ब्याकअप किपर फिलिप जोर्गेन्सन र डिफेन्डर तोसिन अदरबायोलाई उनले मैदान पठाए।
२१औं मिनेटमा पाल्मर कम्मरको चोटका कारण बाहिरिएपछि एन्ड्रे सान्टोसले उनलाई प्रतिस्थापन गरे। संख्या बढी भएको फाइदा उठाउँदै युनाइटेडले १४औं मिनेटमा कप्तान ब्रुनो फर्नान्डेसमार्फत गोल गर्दै अग्रता लियो।
त्यसपछि ३७ औं मिनेटमा कासेमिरोले हेडरमार्फत दोस्रो गोल थपे। तर, पहिलो हाफमा थपिएको इन्जुरी समयमा उनले दोस्रो पहेंलो कार्ड पाएर रातो कार्ड खाँदा युनाइटेड पनि १० खेलाडीमा सीमित रह्यो।
८०औं मिनेटमा त्रेभो चलोबाहले चेल्सीका लागि एक गोल फर्काए। तर, अन्तिमसम्म बराबरी निकाल्न नसक्दा चेल्सी पराजित भयो। यो जितसँगै युनाइटेडले लिगमा कठिन सुरुआतपछि राहतको दोस्रो तीन अंक जोडेको छ।