अपराजित लिभरपुल

काठमाडौं। साबिक विजेता लिभरपुलले इङ्लिस प्रिमियर लिगको नयाँ सिजनमा जितको यात्रालाई निरन्तरता दिइरहेको। यद्यपि, पछिल्लो खेलमा तालमेलमा कमी देखिएको थियो। आक्रमण पनि केही फिक्का भए।
तर, एनफिल्डमा शनिबार एभर्टनलाई २–१ ले पराजित गर्दै ‘अलरेड्स’ ले आफ्नो शीर्ष स्थानलाई अझ पक्का बनाएको छ। यस जितसँगै प्रिमियर लिगमा लिभरपुलले लगातार पाँच खेल जित्दै १५ अंक पुर्याएको छ।
तालिकाको दोस्रो स्थानमा रहेको आर्सनलले एक खेल कम खेलेको छ। तर, लिभरपुलभन्दा ६ अंकले पछि परेको छ। पाँच खेल खेलेको टोटनह्याम र क्रिस्टल प्यालेस दुवैको अंक ९ छ। एभर्टन भने पाँच खेलमा ७ अंकसहित आठौं स्थानमा छ।
खेलको सुरुआतमै गोलका लागि आतुर देखिएको लिभरपुलले १०औं मिनेटमै अग्रता लियो। मोहम्मद सलाहको पासलाई सदुपयोग गर्दै रायन ग्राभेनबर्चले पावरफुल शटमार्फत पहिलो गोल गरे।
२९औं मिनेटमा अग्रता बढाउन उगो एकिटिकेले अर्को गोल थपे। ग्राभेनबर्चकै पासबाट पाएको बललाई उनले लो शटमार्फत जालीभित्र पुर्याए। गत जुलाईमा लिभरपुलमा आएका एकिटिकेको यो तेस्रो गोल हो।
पहिलो हाफ २–० मै सकिएपछि दोस्रो हाफमा एभर्टनले खेलमा फर्किने प्रयास गर्यो। ५८औं मिनेटमा सेनेगलका मिडफिल्डर इद्रिसा ग्येइले ब्याकपासमा आएको बललाई गोलमा परिणत गरे।
६७औं मिनेटमा एकिटिकेलाई बाहिर निकाल्दै लिभरपुलका प्रशिक्षक आर्ना स्लटले क्लबको नयाँ कीर्तिमानी शुल्कमा आएका अलेक्जान्डर इसाकलाई मैदानमा उतारे। तर, त्यसपछि दुवै टोलीले थप गोल गर्न सकेनन्।
अन्तत २–१ को जितसँगै लिभरपुलले आफ्नो अपराजित यात्रालाई कायम राख्दै तालिकाको शीर्ष स्थानलाई अझ सुरक्षित बनायो।