काठमाडौं। इङ्लिस प्रिमियर लिगमा खेलेका मिडफिल्डर हम्जा देवान चौधरी हालै बंगलादेशको जर्सीमा मैदान उत्रिए। त्यो दिनले बंगलादेश मात्र होइन, सम्पूर्ण दक्षिण एसियाली फुटबललाई हलचल बनायो।
दक्षिण एसियामा विश्वस्तरीय मञ्चमा खेलेको र प्रिमियर लिगको अनुभव बोकेको खेलाडी राष्ट्रिय टोलीको जर्सीमा देखिनु दुर्लभ दृश्य हो। बंगलादेशसँग दुई मैत्रीपूर्ण खेलको मिति घोषणा भएसँगै नेपाली फुटबलप्रेमीहरू पनि उत्तिकै रोमाञ्चित थिए।
त्रिपुरेश्वरको दशरथ रंगशालामा बंगलादेश र नेपालको मैत्रीपूर्ण खेलमा हम्जा खेल्ने आशाले वातावरण फरक बनाएको थियो। टिकट काट्ने दर्शकदेखि लिएर स्कुलका विद्यार्थीसम्म सबको उत्सुकता एउटै थियो– हम्जा प्रत्यक्ष हेर्ने।
तर, दुर्भाग्यवश त्यो सम्भव भएन। चोट र व्यस्त तालिकाले लेस्टर सिटीले हम्जालाई काठमाडौंसम्म आउन दिएन। उनी नआए पनि उनको नाम भने बारम्बार घन्किरह्यो। पत्रकार सम्मेलनमा, प्रशिक्षकको भनाइमा, कप्तानको टिप्पणीमा।
नेपालका कप्तान किरण चेम्जोङले खुलेर भने,‘यस टोलीका रूपमा हामी पनि हम्जालाई हेर्न चाहन्थ्यौं। नेपालका स्कुलमा पढ्ने बच्चाहरू समेत उनलाई हेर्न आतुर थिए। यति ठूला खेलाडीलाई हाम्रो रंगशालामा देख्दा निकै गर्व लाग्थ्यो। तर, दुर्भाग्यवश त्यो सम्भव भएन।’
किरण यसै सिजन हुने बंगलादेश प्रिमियर लिग खेल्न पुलिस क्लबमा अनुबन्ध भइसकेका छन्। उक्त क्लबबाट प्रि–सिजन मैत्रीपूर्ण खेल खेल्दा उनले हम्जाको पेनाल्टी बचाउने इच्छा प्रकट गरेका थिए। तर, यसपटक उनको उक्त इच्छा पनि अधुरै हुने भएको छ।
बंगलादेशका प्रशिक्षक हाभियर क्याब्रेरा पनि पत्रकारको प्रश्नमै अड्किए। उनले हम्जा नभए पनि टोली कमजोर नभएको स्पष्ट पारे। तर, सबैकै स्वरमा एउटा समानता थियो– हम्जा एक नाम मात्र होइन, यस खेलका आकर्षण थिए।
नेपालका मुख्य प्रशिक्षक म्याट रसले भने, ‘हम्जा रहुन् वा नरहुन्, बंगलादेश बलियो टोली नै हो।” उनको भनाइले व्यावहारिक पक्ष देखाउँछ। तर, हम्जाको अनुपस्थितिले खेलको वरिपरिको भावनात्मक रङ भने पक्का नै फिक्का बनाएको छ।