काठमाडौं। करिब दुई दशकपछि हाँडीगाउँमा ‘डबली सर्किट रन २०८२’ हुने भएको छ।
काठमाडौं महानगरपालिका ५ को आयोजनामा ‘नर दे जिवन्त हाँडीगाउँ’ को सहआयोजना तथा गोरखा रनर्स क्लबको प्राविधिक सहयोगमा भदौ २१ गते (शनिबार) बिहान ‘गहना खोज्ने पोखरी’ वरिपरि यस दौड आयोजना हुन लागेको हो।
करिब २५ वर्षअघि देखि सुरु भएको यस प्रतियोगिता विविध कारणले २० वर्षभन्दा बढी समयदेखि रोकिएको थियो। यस वर्षबाट भने पुनः निरन्तरता दिने लक्ष्यसहित पहिलो चरणमा १८ वर्षमुनिका खेलाडीलाई सहभागी गराइन लागेको वडा अध्यक्ष विरेन्द्र प्रजापतिले जानकारी दिए।
प्रतियोगितामा छात्रतर्फ ३ किलोमिटर र छात्रातर्फ २ किलोमिटर दूरीको दौड हुनेछ। दुवै विधामा पहिलो हुने खेलाडीलाई १२ हजार, दोस्रोले ९ हजार, तेस्रोले ६ हजार, चौथोले ३ हजार, पाँचौंले १५ सय तथा छैटौंदेखि दशौं स्थानसम्मका विजेताले १–१ हजार रुपैयाँसहित पदक, ट्रफी र प्रमाणपत्र पाउनेछन्।
आयोजकले आउने वर्षदेखि भने यस प्रतियोगितामा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडीहरूलाई समेत सहभागी गराउने योजना बनाएको छ।