काठमाडौं। फ्रेन्च कप्तान किलियन एमबाप्पे अब क्लब स्तरमा पनि जर्सी नम्बर १० मा देखिने भएका छन्।
स्पेनिस क्लब रियल मड्रिडले २०२५–२६ सिजनदेखि उनलाई यो प्रतिष्ठित नम्बर दिने तयारी गरेको हो। पेरिस सेन्ट–जर्मेन (पीएसजी) छाडेर गत सिजन रियल पुगेका २६ वर्षीय एमबाप्पेले हालसम्म नम्बर ९ जर्सी लगाउँदै आएका थिए, जुन अघिल्लो पटक करिम बेन्जेमाले प्रयोग गरेका थिए।
रियलमा उनको पहिलो सिजन निकै प्रभावशाली प्रदर्शन रह्यो। उनले सबै प्रतियोगितामा मिलाएर ४४ गोल गरे। तर, लुका मोड्रिचले क्लबबाट बिदा लिएसँगै नम्बर १० को स्थान खालि भएको छ। एमबाप्पेले मोनाकोमा रहँदा पनि यही नम्बर लगाएका थिए र अहिले फ्रान्सको राष्ट्रिय टिममा पनि यही नम्बर प्रयोग गर्छन्।
इएसपीएनको रिपोर्टअनुसार अब यो नम्बर रियलमा पनि उनले नै पाउने निश्चित भएको छ। यद्यपि, युवा मिडफिल्डर अर्दा गुलेरले पनि मोड्रिचको नम्बर लिने चर्चा चलेको थियो।
तर, सुरुआत देखिनै क्लबको योजना एमबाप्पेलाई यो नम्बर दिने थियो। यदि मोड्रिचले अनुबन्ध नवीकरण गरेका भए पनि एमबाप्पे अझै एक सिजन यो नम्बर पाउन पर्खन तयार थिए।
यो नम्बरको इतिहास र महत्त्वलाई हेर्दा एमबाप्पेमाथि रियलको अब थप अपेक्षा हुनेछ। मोड्रिचले आफ्नो १३ वर्षे करियरमा ८ वर्ष यही नम्बर लगाएका थिए र क्लबका लागि सबैभन्दा धेरै २८ उपाधि जिते।
यसअघि फेरेन्क पुस्कास र मेसुत ओजिलजस्ता खेलाडीहरूले पनि नम्बर १० जर्सी लगाइसकेका छन्। हालैको सिजनमा एमबाप्पेले व्यक्तिगत रूपमा उल्लेखनीय सफलता हात पारेका छन्। उनले ला लिगाको ‘पिचिची ट्रफी’ र युरोपको ‘गोल्डेन बुट’ दुवै जिते।
तर, रियललाई भने प्रमुख उपाधि दिलाउन सकेनन्। अब नयाँ जर्सीसँगै उनले क्लबलाई नयाँ उचाइमा लैजाने अपेक्षा गरिएको छ।