काठमाडौं। महिला फुटबलको इतिहासमै पहिलो पटक एएफसी एसियन कप खेल्न लागेको बंगलादेश ‘पोट ४’ मा परेको छ।
एसियाली फुटबल महासंघ (एएफसी)ले समूह विभाजन गर्न सार्वजनिक गरेको सिलिङ अनुसार बंगलादेश भारत र इरान रहेको पोर्टमा परेको हो। म्यानमारमा भएको छनोटमा बंगलादेशले अपराजित रहँदै अस्ट्रेलियामा हुने एसियन कपमा स्थान सुरक्षित गरेको थियो।
यो प्रतियोगिता सन् २०२६ को मार्च १ देखि २१ सम्म अस्ट्रेलियाको सिड्नी, पर्थ र गोल्ड कोस्टमा आयोजना हुँदैछ। एसियन कपको समूह चरण ‘ड्र’ जुलाई २९ मा सिड्नीमा हुने तय भएको छ।
योसँगै बंगलादेश भारत र इरानसँग भने एकै समूहमा नपर्ने भएको छ। तर, ‘पोट १’, ‘पोट २’ र ‘पोट ३’ का शक्तिशाली टोलीसँग बंगलादेशले समूह चरणमा प्रतिस्पर्धा गर्नुपर्ने भएको छ।
सम्भावित प्रतिद्वन्द्वीहरूमा जापान, उत्तर कोरिया, चीन, दक्षिण कोरिया र भियतनामजस्ता टोली छन्।
यद्यपि, बंगलादेशका लागि सबैभन्दा महत्त्वपूर्ण भिडन्त ‘पोट ३’ बाट आउने प्रतिद्वन्दीसँग हुने अपेक्षा गरिएको छ।
यो पोटमा फिलिपिन्स, चाइनिज ताइपेई र उज्बेकिस्तान रहेका छन्। बंगलादेशले छनोट चरणमै फिफा वरीयतामा ५५औं स्थानमा रहेको म्यानमारलाई पराजित गरिसकेको छ, जुन उज्बेकिस्तानसँग वरीयतामा मिल्दोजुल्दो छ। बंगलादेशले क्वार्टरफाइनल यात्राको ढोका खोल्ने सम्भावना राख्छ।
समूह चरणबाट प्रत्येक समूहका शीर्ष दुई टोली र दुई उत्कृष्ट तेस्रो टोलीले क्वार्टरफाइनलमा स्थान बनाउनेछन्। त्यहाँबाट महिला विश्वकप र ओलम्पिकतर्फको यात्रा पनि सुरु हुने छ।
विगत केही वर्षदेखि महिला फुटबलमा आशालाग्दा संकेत दिइरहेको बंगलादेशका लागि यो छनोट ऐतिहासिक मात्र होइन भविष्यको ढोका पनि हुनेछ।