काठमाडौं। रियल मड्रिडका पूर्वगोलकिपर केलोर नाभास मेक्सिकन लिग क्लब युएनएएम पुमासमा आबद्ध हुन लागेका छन्।
अर्जेन्टिनाको न्यूवेल्स ओल्ड ब्वाइजसँगको छोटो ६ महिनाको बसाइपछि उनी मेक्सिको जाँदै छन्। ३८ वर्षीय नाभासले न्यूवेल्ससँग यसै वर्ष जनवरीमा दुई वर्षे सम्झौता गरेका थिए। तर, दुई साताअघि पुमासबाट आएको प्रस्तावपछि उनी क्लब छाड्न तयार भएका हुन्।
अर्जेन्टिनी क्लब न्यूवेल्सले सोमबार घोषणा गर्दै पुमाससँगको सम्झौतामा आफूले २० लाख अमेरिकी डलर पाउने जनाएको छ। यद्यपि, पुमासले अझै आधिकारिक रूपमा घोषणा गरिसकेको छैन।
नाभासले अर्जेन्टिनी लिगका पहिलो दुई खेल गुमाएका थिए। पहिलो खेल उनी बिरामी थिए। दोस्रो खेलमा भने आफैं बेन्चमा बसे।
नाभासले न्यूवेल्स ओल्ड ब्वाइजमा अनुबन्ध हुँदा पेरिस सेन्ट जर्मेन (पीएसजी) क्लबको दोस्रो कार्यकाल सकिरहेका थिए, जहाँ उनले सबै प्रतियोगितामा जम्मा ६ खेल मात्रै खेले।
न्यूवेल्स ओल्ड ब्वाइज लिओनल मेसीको बाल्यकालको क्लब हो। यो अर्जेन्टिनाको राजधानी बुएनोस आयर्सबाट ३०० किलोमिटर उत्तरपूर्वमा रहेको रोसारियोमा आधारित छ।
पीएसजीमा नाभासले आफ्नो पहिलो चार वर्षे कार्यकालमा दुई फ्रेन्च लिग उपाधिसहित सफल समय बिताएका थिए। उनले आफ्नो व्यावसायिक फुटबल यात्रा सन् २००५ मा कोस्टारिकाको सप्रिसाबाट सुरु गरेका थिए। त्यसपछि उनी युरोप पुगे, जहाँ अल्बासेते हुँदै लेभान्टामा खेले।
सन् २०१४–१५ सिजनमा नाभास रियल मड्रिडमा अनुबन्ध भए। त्यहाँ उनले एक ला लिगा उपाधि, एक स्पेनिस सुपर कप र तीन पटक युएफा च्याम्पियन्स लिग जिते। नाभास कोस्टारिकाको तर्फबाट तीन विश्वकप खेलमा पनि सहभागी भइसकेका छन्।