काठमाडौं। नेपाली यु–२३ टोलीका मुख्य प्रशिक्षक नवीन न्यौपानेले विंगर आयुष घलानसहित चार सिनियर टोलीका खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएका छन्।
टोलीले सेप्टेम्बर ३ देखि ९ सम्म ताजिकिस्तानमा एएफसी यु–२३ एसियन कप छनोट खेल्दैछ।
उनले सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा टोलीलाई प्रशिक्षण दिइरहेका छन्। उनले तेस्रो चरणमा ३२ खेलाडीलाई बन्द प्रशिक्षणमा राख्ने भएका छन्। उनले आयुषसँगै मिडफिल्डर कृतिशरत्न छुन्जु, डिफेन्सिभ मिडफिल्डर सन्तोष खत्री र सेन्ट्रल डिफेन्डर सुमित श्रेष्ठलाई पनि प्रशिक्षणमा बोलाएका छन्।
यी खेलाडी यु–२३ टोलीमा आबद्ध भएपछि त्यही समय (सेप्टेम्बर ६ र ९) मा हुने नेपाल र बंगलादेशबीचको मैत्रीपूर्ण खेल गुमाउने छन्। नेपाल यु–२३ टोलीले ग्रुप ‘के’ मा छ। यो समूहमा सिरिया, फिलिपिन्स र आयोजक ताजिकिस्तानले प्रतिस्पर्धा गर्नेछ।
नेपालले पछिल्लो पटक सन् २०२२ मा यु–२३ छनोट खेलेको थियो।