काठमाडौं। जर्मनीले पेनाल्टी सडनडेथमा फ्रान्सलाई ६–५ ले हराउँदै युरोपियन च्याम्पियनसिपको सेमिफाइनलमा स्थान बनाएको छ।
शनिबार सेन्ट ज्याकोब पर्कामा सम्पन्न क्वार्टरफाइनलमा निर्धारित ९० मिनेट र अतिरिक्त ३० मिनेटमा १–१ गोलको बराबरी भएपछि खेलको निर्णय पेनाल्टीबाट भएको हो।
जर्मनीको जितसँगै च्याम्पियनसिपको सेमिफाइनल समीकरण पूरा भएको छ। अब जर्मनीले स्पेनसँग भिड्नेछ। अर्को सेमिफाइनलमा इङ्ल्यान्ड र इटाली आमनेसामने हुनेछन्।
१३औं मिनेटमा क्याथ्रिन हेन्ड्रिचले रातो कार्ड पाएपछि जर्मनी १० खेलाडीमा समेटिएको थियो।
त्यसको दुई मिनेटमै ग्रेस गियोरोले पेनाल्टीमार्फत गोल गर्दै फ्रान्सलाई अग्रता दिलाइन्। तर, २५औं मिनेटमा स्जोके नुस्केनले बराबरी गोल फर्काउँदै जर्मनीलाई खेलमा फर्काइन्।
दोस्रो हाफमा नुस्केनले ६९औं मिनेटमा अर्को पेनाल्टी गुमाउँदा जर्मनीले अग्रता लिने मौका चुकाएको थियो। त्यसपछि खेल गोलरहित रहँदै पेनाल्टीसम्म पुगेको हो।
पेनाल्टी सुटआउटमा जर्मनीका लागि जेनिना मिङ्गे, लिंडा डालम्यान, रेबेका कनाक, एन क्याथ्रिन बर्गर, क्लारा बुहल र स्जोके नुस्केनले गोल गरे। सारा डेब्रिज भने चुकिन्। फ्रान्सतर्फ सकिना कार्चौई, मेलविन मालार्ड, स्यान्डी बाल्टिमोर, ओरियन जिन–फ्रान्कोइस र मेल्विन एन डोंगालाले गोल गरे। तर, अमेल मजरी र एलिस सोम्बाथको प्रहार असफल रह्यो।