काठमाडौं। उपाधि त एउटा जित वा बराबरीको नतिजाले तय हुने पक्का छ। तर, बंगलादेशले तेस्रो खेलमै लगाएको घाउको हिसाब चुक्ता गर्न भने नेपाली टोलीले अझै बाँकी छ।
नेपाल र बंगलादेशबीच सोमबार हुने भिडन्त यो हिसाव चुक्ता गर्ने खेल मात्रै होइन, साफ यु–२० महिला च्याम्पियनसिपको फाइनलसरह हुनेछ। शनिबार सम्पन्न खेलमा श्रीलंकामाथि ५–० को एकतर्फी जित निकाल्दै साबिक विजेता बंगलादेश फेरि अंकतालिकाको शीर्ष स्थानमा फर्किएको छ।
पाँच खेलबाट पाँचै जित र पूरा १५ अंक छ। यता नेपाल पनि कमजोर देखिएको छैन। शनिबार नै भुटानलाई ८–० ले हराएको नेपाल पाँच खेलबाट १२ अंक जोड्दै दोस्रो स्थानमा छ। तर, सुखद् पक्ष भने एक खेल हारे पनि नेपालले गोलअन्तरमा बंगलादेशलाई उछिनेको छ।
नेपालले अहिलेसम्म प्रतियोगितामा ३० गोल गरिसकेको छ, जुन यो संस्करणकै उच्चतम् हो। र, चार गोल मात्रै खाएको छ। तीमध्ये दुई गोल बंगलादेशसँगको खेलमा थियो। तर, नेपाल ३–२ ले पराजित भयो। त्यसैले त्यो एक हार नेपालका लागि नतिजाभन्दा पनि झन गहिरो पीडा बनेको छ।
ठीक त्यसैगरी बंगलादेशका लागि नेपालविरुद्धको त्यो नतिजा नै सबैभन्दा कठिन जित रह्यो। उसले श्रीलंका र भुटानजस्ता टोलीसँग जित निकाल्न यस्तो संघर्ष नै गर्नुपरेको छैन।
अब सोमबारको खेलले फाइनलको मोड लिएको छ। नेपाललाई उपाधिका लागि जित आवश्यक छ। बराबरीमा चित्त बुझाउने बाटो पनि छैन। बंगलादेशलाई भने बराबरी नै पर्याप्त हुनेछ, उपाधि रक्षा गर्न।
नेपाली टोलीका मुख्य प्रशिक्षक यमप्रसाद गुरुङ बंगलादेशसँगको अघिल्लो खेलमा भएका गल्ती नियाल्दै छन्। उक्त गल्ती पत्ता लगाएर उनी मैदान उत्रिने बताउँछन्।
उनी भन्छन्, ‘बंगलादेशसँग पहिलो हाफमा कसरी दुई गोल खायो भन्नेर कमजोरी पत्ता लगाउने छौं। त्यसपछि रणनीति बनाएर आक्रमक फुटबल खेल्छौं।’