काठमाडौं। साफ महिला यु–२० च्याम्पियनसिपको शीर्ष गोलकर्ताको सूचीमा दुई नेपाली खेलाडीले अग्रता कायमै राखेका छन्।
बंगलादेशको राजधानी ढाकास्थित बसुन्धरा स्पोर्ट्स ग्राउन्डमा शनिबार सम्पन्न खेलमा नेपालले ८–० को जित निकाल्यो। यो खेलमा नेपाललाई जित दिलाउन पूर्णिमा राई र मीना देउवाले ह्याट्रिक गरिन्।
प्रतियोगिता अन्तिम चरणतर्फ आइपुग्दा पूर्णिमा १० गोलसहित शीर्ष स्थानमा छिन्। उनले जारी प्रतियोगितामा भुटानविरुद्ध दुई ह्याट्रिकसहित सर्वाधिक ७ गोल गरिसकेकी छन्। यस्तै, श्रीलंकाविरुद्ध ३ गोल गरेकी छन्।
उनले मीनाले पछ्याइरहेकी छन्। मीनाले पनि जारी प्रतियोगितामा २ ह्याट्रिक नै गरेकी छन्। उनले श्रीलंकाविरुद्ध ७-० को जित निकाल्ने क्रममा यो उपलब्धि हासिल गरेकी थिइन्। त्यसअघि उनले बंगलादेशविरुद्ध १ र भुटानविरुद्ध ३ गोल गरेकी थिइन्।
यी दुई खेलाडीलाई बंगलादेशकी मोसमत सागोरिका र शान्ति मार्डीले पछ्याइरहेका छन्। यी दुवै खेलाडीको नाममा समान ४ गोल छ। सागोरिका श्रीलंकाविरुद्धको खेलमा अनुपस्थित हुनेछिन्।
नेपालसँगको ३-२ को जितमा नेपाली डिफेन्डर सिमरन राईको कपला भुत्लाएपछि उनलाई ३ खेलको प्रतिबन्ध र ५ सय डलर जरिवाना तिराइएको थियो। सिमरनलाई पनि यो सजाय लागु हुनेछ।
त्यसैले उनले शनिबार नै हुने श्रीलंकाविरुद्धको दोस्रो खेल गुमाउने छिन्। उनले पहिलो खेलमा ह्याट्रिक गरेकी थिइन्। शान्ति भने यो खेलमा हुनेछिन्। उनलाई अब श्रीलंकाविरद्ध गोल वर्षाउँदै मीना र पूर्णिमालाई भेट्ने अवसर छ।