काठमाडौं। नेपाली राष्ट्रिय फुटबल टोलीका डिफेन्सिभ मिडफिल्डर रोहित चन्द जापानी फुटबल लिजेन्ड केइसुके होन्डाको नेतृत्वमा गठन भएको नयाँ टोली एसिया वारियर्स एफसीसँग जोडिएका छन्।
सन् २०२५ को सुरुमा स्थापना गरिएको यो टोली एसियाका चर्चित खेलाडीहरूलाई एकत्रित गर्दै मैदानभित्र र बाहिर सकारात्मक परिवर्तन ल्याउने लक्ष्यसहित अघि बढेको हो।
‘युनिटी बियन्ड बोर्डर्स’ अर्थात् ‘सीमाना पारिको एकता’ भन्ने नारासहित अघि बढेको यो परियोजना फुटबलमार्फत सामाजिक प्रभाव र महादेशीय एकताको सन्देश फैलाउने उद्देश्यमा केन्द्रित छ।
होन्डाले सन्न्यासनजिक रहेका एसियाली खेलाडीहरूलाई समेटर यो टोली निर्माण गरेका हुन्, जसमा नेपालका रोहितले पनि स्थान बनाएका छन्।
एसिया वारियर्सले पहिलो खेल इन्डोनेसियाको क्लब पर्सिक केदिरीविरुद्ध जुलाई २०, २०२५ मा खेल्नेछ। उक्त मैत्रीपूर्ण खेललाई विश्व फुटबलमा एसियाली लिजेन्डको एकताको प्रतिकको रूपमा हेरिएको छ।
नेपाली टोलीमा लामो समय योगदान दिँदै आएका र इन्डोनेसियाली क्लबहरूमा व्यावसायिक अनुभव बटुलेका रोहितका लागि यो अवसरले अन्तर्राष्ट्रिय स्तरमा फेरि आफूलाई प्रमाणित गर्ने ढोका खोलेको छ।
एसिया वारियर्सले भविष्यमा च्यारिटी खेल, सामाजिक परियोजना र फुटबल क्याम्पमार्फत एसियाली फुटबलको दायरा फराकिलो बनाउने योजना बनाएको छ।