काठमाडौं। विभागीय टोली त्रिभुवन आर्मी क्लब १३४औं डुरान कप खेल्न भारत प्रस्थान गरेको छ।
दक्षिण एसियाकै सबैभन्दा पुरानो प्रतियोगिता मानिने डुरान कपमा आर्मीले सन् २०२३ देखि सहभागी जनाउन थालेको हो। तर, अहिलेसम्म समूह चरण पार गर्न सकेको छैन।
यसपल्टको प्रतियोगिता २३ जुलाईदेखि २३ अगस्टसम्म हुँदैछ। प्रतियोगिता आर्मीबाहेक २४ टोलीले सहभागिता जनाउँदै छ। यसपल्ट आमन्त्रित टोलीमा अमेरिकाको आर्मी फोर्सले पनि सहभागी हुनेछ। यी दुईबाहेक भारतका २२ टोलीले प्रतियोगिता खेल्नेछन्।
सहभागी टोलीलाई ६ समूहमा विभाजन गरिएको छ। आर्मी समूह सी मा छ। यो समूहमा झारखण्डको जमशेदपुर एफसी, भारतीय सेना र कश्मिकरको लेहमा रहेको लद्दाख एफसी छन्। जमशेदपुर इन्डियन सुपर लिग (आइएसएल) खेल्ने क्लब हो। लद्दाखले भने स्टेट लेभलमा खेल्दै आएको छ।
आर्मीले आफ्नो समूहको खेल झारखण्डमा खेल्नेछ। आर्मीले पहिलो खेल २४ जुलाईमा घरेलु टोलीसँग खेल्दै प्रतियोगिता सुरुआत गर्नेछ।
२ अगस्टमा लद्दाख र ५ अगस्टमा इन्डियन आर्मीसँग खेल्दै समूह चरणका खेल सक्काउने छ। समूहको शीर्ष स्थानमा रहने टोलीले क्वार्टरफाइनमा स्थान बनाउने छ। दोस्रो स्थानमा रहने टोलीको पनि क्वार्टरफाइनलमा पुग्ने सम्भावना यथावत् रहनेछ।