काठमाडौं। साफ यू–२० महिला च्याम्पियनसिपअन्तर्गत गत जुलाई १३ मा नेपाल र बंगलादेशबीचको खेलमा भएको घटनाका कारण दुवै टिमका खेलाडीहरूलाई कारबाही गरिएको छ।
दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले नेपालकी डिफेन्डर सिमरन राई र बंगलादेशकी सागरिकालाई तीन खेलका लागि निलम्बन गरेको हो। साथै यी दुई खेलाडीलाई ५०० अमेरिकी डलर जरिवाना पनि गरेको छ।
उक्त खेल निकै प्रतिस्पर्धात्मक रह्यो। अन्तिम समयमा गोल गर्दै बंगलादेशले ३–२ को जित हात पारेको थियो। तर, खेलको ५५औं मिनेटमा सिमरन र सागरिकाबीच विवाद भएको थियो।
मैदानमै हात हालाहाल र कपाल लुछालुछ भएपछि रेफ्रीले दुवै खेलाडीलाई सोझै रातो कार्ड देखाएर मैदानबाट बाहिर पठाएका थिए।
सामान्यतः रातो कार्ड पाएका खेलाडीलाई एक खेलको प्रतिबन्ध लाग्ने नियम छ। तर, घटनाको गम्भीरतालाई मध्यनजर गर्दै प्रतियोगिता आयोगले प्रतिबन्धलाई तीन खेलमा बढाएको हो।
यद्यपि, यी दुई खेलाडीले दुई खेलको प्रतिबन्ध भोगिसकेका छन्। त्यसैले बंगलादेश र नेपालबीच हुने निर्णायक खेलमा यी दुई खेलाडी पुन: एक साथ मैदानमा देखिने छन्।
सागरिका अहिले उत्कृष्ट लयमा रहेकी छन्। गत सत्रको उत्कृष्ट खेलाडी घोषित भएकी उनले यसपटक पनि पहिलो खेलमा श्रीलंकाविरुद्ध ह्याट्रिक र नेपालविरुद्ध एक गोल गरिसकेकी छन्।