काठमाडौं। हेल्प नेपाल स्पोर्ट्स क्लबले काभा च्याम्पियन्स लिग विजयी सुरुआत गरेको छ।
बिहीबार राति सम्पन्न खेलमा हेल्प नेपालले माल्दिभ्सको क्लब धिवेही सिफाइन्गे क्लबलाई ३–२ को कठिन सेटमा पराजित गरेको हो।
पहिलो सेटदेखि नै खेल रोमाञ्चक मोडमा गएको थियो। उक्त सेट हेल्प नेपालले ३३–३१ ले आफ्नो पक्षमा पार्यो।
दोस्रो सेटमा पनि निकै प्रतिस्पर्धा भएको थियो। तर, हेल्प नेपालले २५–२० ले आफ्नो बनाउँदै २–० को अग्रता लियो।
तर, त्यसपछिका दुई सेट २५–२२ र २५–२० ले लगातार जित्दै धिवेहीले खेलमा पुनरागमन गर्यो।
त्यसपछि खेल पाँचौं सेटमा धकेलिएको थियो। उक्त सेट हेल्प नेपालले १५–८ ले सहजै आफ्नो पक्षमा पार्यो।
च्याम्पियन्स लिगमा हेल्प नेपालसहित सेन्ट्रल एसियाका ५ राष्ट्रका ६ क्लबले सहभागिता जनाएका छन्। सिंगल राउण्ड रोविनका आधारमा हुने प्रतियोगिताको दोस्रो खेलमा माल्दिभ्सकै क्लब एचडिसीसँग खेल्नेछ।