काठमाडौं। आगामी सेप्टेम्बरमा नेपाल भ्रमणमा आउने बंगलादेश राष्ट्रिय फुटबल टोलीमा कुनै पनि विदेशी लिग खेल्ने खेलाडी नहुने पक्का भएको छ।
बंगलादेशी मिडिया सोमोयका अनुसार हम्जा चौधरी र शमित शोन टोलीमा हुने छैनन्। मिडफिल्डर हम्जा इङ्लिस प्रिमियर लिग खेलिसकेका खेलाडी हुन्।
तर, अहिले उनको क्लब लेस्टर सिटी दोस्रो डिभिजनको इङ्लिस फुटबल लिग च्याम्पियनसिप (इएफएल) मा छ। उनी यही लिग खेल्ने लेस्टर सिटीमा अनुबन्धित छन्। शमित क्यानडाली लिग खेलिरहेका छन्।
हम्जाले यसअघि मार्च २५ मा एएफसी एसियन कप छनोटअन्तर्गत भारतविरुद्धको खेलमा अन्तर्राष्ट्रिय डेब्यु गरेका थिए। उनले बंगलादेशी जर्सीमा तीन खेल मात्रै खेलेका छन्। उनले भुटानविरुद्धको मैत्रीपूर्ण खेलमा एक गोल गरेका थिए।
उनी हाल लेस्टर सिटीको प्रि–सिजन तयारीमा व्यस्त छन्। शमित सेप्टेम्बरमा क्यानाडियन प्रिमियर लिगकै व्यस्ततालाई कारण देखाउँदै अनुपस्थित हुने पुष्टि भएको हो।
उनले जुन १० मा एएफसी एसियन कप छनोटअन्तर्गत सिंगापुरविरुद्धको खेलमा अन्तर्राष्ट्रिय डेब्यु गरेका थिए। उक्त खेलमा बंगलादेश २–१ ले पराजित भएको थियो।
बंगलादेश फुटबल महासंघ (बीएफएफ) ले बिहीबार राति मात्रै सेप्टेम्बर ६ र ९ मा नेपालसँग दुई मैत्रीपूर्ण खेल काठमाडौंमा खेल्ने निर्णय गरेको हो।
महासंघले यसअघि युरोपेली टोलीहरूसँग खेल्ने प्रयास गरेको थियो। तर, तालिका नमिलेपछि अन्ततः राष्ट्रिय टिम कमिटीको पछिल्लो बैठकले नेपालसँग खेल्न सहमति जनाएको हो।
यी मैत्रीपूर्ण खेलहरू अक्टोबरमा हङकङसँग हुने एसियन कप छनोटअन्तर्गतको खेलको तयारीस्वरूप लिइने बीएफएफले जनाएको छ। टोलीको व्यवस्थापकको जिम्मेवारी यसपटक पनि आमेर खानकै हातमा हुनेछ।