काठमाडौं। सावित्रा भण्डारी ‘साम्बा’ फेरि एकपटक अन्तर्राष्ट्रिय क्लब फुटबलको अर्को रोमाञ्चक अध्यायतिर अघि बढेकी छन्।
फ्रान्सको शीर्ष डिभिजन क्लब अभान्ट ग्वेन्ग्याम्पसँगको दुई वर्षे सम्झौता सकिएपछि उनी अब अस्ट्रेलियन ‘ए’ लिगतर्फ मोडिएकी छन्। त्यहाँ उनी न्युजिल्यान्डको क्लब वेलिङ्टन फिनिक्सको जर्सीमा मैदान उत्रनेछिन्।
साम्बाको फुटबल यात्राले सधैं अनपेक्षित मोड लिएको छ। तर, उनको यो यात्रा सधैं उकालो चढ्दै छ। भारतको महिला सुपर लिगमा २४ खेलमै ६० गोल गरेपछि उनले युरोपेली टोलीको ध्यान खिचेकी थिइन्।
फलस्वरूप २०८० माघमा ग्वेन्ग्याम्प पुगेकी साम्बाले त्यहाँ पहिलो सिजनदेखि नै प्रभाव छोडिन्। दोस्रो सिजनमा त पेरिस सेन्ट-जर्मन (पीएसजी)विरुद्ध ह्याट्रिक नै गरिन्।
यस्तो प्रतिस्पर्धी टोलीविरुद्ध गोल गर्ने नेपाली फुटबल इतिहासमै पहिलो महिला खेलाडी बन्नु सानो उपलब्धि थिएन। तर, समग्रमा खराब प्रदर्शनका कारण दोस्रो सिजनको अन्त्यसँगै टोली रेलिगेसनबाट जोगिन सकेन।
त्यसमा उनी भावुक छिन्। सामाजिक सञ्जालमार्फत बिहीबार ग्वेन्ग्याप्पोसँग बिदा माग्दै साम्बाले लेखिन्,‘हामीले पछिल्ला दुई वर्षमा बाँडेका यादहरू सधैं मनमा रहनेछन्। क्लब र समर्थकहरूको माया कहिल्यै बिर्सने छैन।’
अब भने उनी नयाँ चुनौतीका लागि तयार छिन्। वेलिङ्टन फिनिक्सका प्रशिक्षक एमी शेफर्ड भन्छिन्,‘हामीले असाधारण गुण भएका गोलकर्ता पाएका छौं। सावित्राको आगमनले हाम्रो टोली अझ मजबुत हुनेछ।’
नेपाली राष्ट्रिय टोलीका लागि ६० खेलमा ६६ गोल गरिसकेकी साम्बाको आँकडा आफैंमा उचाइको परिचय हो। उनले उज्बेकिस्तानमा भएको एएफसी महिला एसियन कप छनोटमा दुई ह्याट्रिकसहित ९ गोल गरिन्, त्यो पनि जम्मा तीन खेलमा। अहिले उनको आत्मविश्वास अझै बढेको देखिन्छ।
उनी भन्छन्, ‘फिनिक्समा अनुबन्ध हुन पाउँदा म उत्साहित छु। यो मेरो लागि नयाँ सुरुआत हो। यो लिग मेरो क्षमताको नयाँ परीक्षा हुनेछ।’
वेलिङ्टन फिनिक्ससँग दुई सिजनको सम्झौता गरेकी साम्बा आगामी सेप्टेम्बरदेखि सुरु हुने प्रि–सिजन प्रशिक्षणमा सहभागी हुन न्युजिल्यान्ड जाने तयारीमा छिन्। उनी क्लबमा अनुबन्धित हुने १७औं खेलाडी हुन्।
अब साम्बाले दक्षिण गोलार्धमा नेपाली फुटबलको डंका पिटाउने नयाँ मौका पाएकी छन्। जहाँ पर्खाइ छ, प्रतिस्पर्धा छ अनि सम्भावनाहरूका नयाँ ढोका पनि। त्यो ढोका अझै खुला राख्ने या बन्द गर्ने उनीमा नै निर्भर हुनेछ।