१० दिनपछि बंगलादेशले पक्का गर्यो नेपालसँगको मैत्रीपूर्ण खेल

काठमाडौं। बंगलादेश राष्ट्रिय फुटबल टोलीले आगामी सेप्टेम्बरमा नेपालमा दुई वटा फिफा अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल खेल्ने पक्का भएको छ।
बंगलादेश फुटबल महासंघ (बीएफएफ) अन्तर्गत राष्ट्रिय टिम समितिको बिहीबार बसेको आपतकालीन बैठकले भियतनामको प्रस्ताव अस्वीकार गर्ने निर्णय गरेको हो।
बीएफएफको अध्यक्ष ताबिथ अवालको अध्यक्षतामा बसेको बैठकले नेपालसँगको खेललाई प्राथमिकता दिँदै ६ र ९ सेप्टेम्बर २०२५ मा त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा मैत्रीपूर्ण खेल खेल्ने निर्णय गरेको छ।
अखिल नेपाल फुटबल संघ (एन्फा) ले भने गत २३ असारमा नै सामाजिक सञ्जालमार्फत बंगलादेशसँग दुई मैत्रीपूर्ण खेल खेल्ने घोषणा गरेको थियोे। त्यसको १० दिनपछि मात्रै बीएफएफ निष्कर्षमा पुगेको हो।
बंगलादेशले यसअघि युरोप, अफ्रिका र एसियाका २७ देशलाई सेप्टेम्बरको फिफा विन्डोका लागि मैत्रीपूर्ण खेल खेल्न प्रस्ताव पठाएको थियो।
तर, युरोप र अफ्रिकाका धेरैजसो टोलीहरू विश्वकप छनोट खेलमा व्यस्त रहेका कारणले सहभागी हुन नसक्ने जानकारी दिएका थिए।
श्रीलंकामा आयोजना हुने भनिएको ‘फोर नेसन्स कप’ मा पनि बंगलादेशले भाग लिने तयारी गरिरहेको थियो। तर, आयोजक श्रीलंका फुटबल महासंघले योजना परिवर्तन गरेपछि त्यो विकल्प पनि बन्द भएको थियो।
बीएफएफका अनुसार १८ जुन २०२५ (४ असार) मा एन्फाले बंगलादेशलाई नेपालमा दुई मैत्रीपूर्ण खेल खेल्न आमन्त्रण गरेको थियो। बीएफएफले भने २ जुलाई (१८ असार) मा एन्फालाई जवाफ फर्काएको थियो।
यद्यपि, ११ जुलाईमा भियतनाम फुटबल महासंघले पनि दुई मैत्रीपूर्ण खेलको लागि आमन्त्रण पठाएपछि बंगलादेश नेपालसँग २ मैत्रीपूर्ण खेल नखेल्ने मनस्थितिमा पुगेको थियो।
गत शनिबार बसकेको बंगलादेशको राष्ट्रिय टोलीको बैठकले नेपालसँग खेल्नुका साथै अझ बलियो टोलीसँग पनि खेल्ने निर्णय गरेको थियो।
बीएफएफ मिडिया समितिका अध्यक्ष आमिरुल इस्लाम बाबुका अनुसार त्यतिखेरै अर्को एक बलियो टोली बंगलादेशसँग खेल्न मानिसकेको बताएका थिए।
त्यो भियतनाम नै थियो। यो टोली फिफा वरीयतामा ११३औं स्थानमा छ। नेपाल १७६ र बंगलादेश १८४औं स्थानमा छ। तर, बैठकले यसअघि नै आफूसँग दुई मैत्रीपूर्ण खेल्ने एन्फाले घोषणा गरिसकेको कारण एकहोरो रद्द नगर्ने निर्णय गरेको थियो।
त्यही बेला बीएफएफका अध्यक्ष अवल नेपाल आएर फर्किएका थिए। दुई दिने भ्रमणमा आएका उनले एन्फाका केही पदाधिकारीलाई समेत भेटेका थिए। तर, उक्त कुरा एन्फाले अहिलेसम्म कतै सार्वजनिक गरेको छैन।
भेटमा नेपाल खेलविहीन नहोस् भनेर कम्बोडियासँग पनि वार्ता गर्ने निष्कर्षमा पुगेको बंगलादेश राष्ट्रिय फुटबल टोलीका म्यानेजर अमेर खानले बिहीबार बिहान मात्रै बताएका थिए।
यद्यपि, नयाँ बनेको समीकरण अझै जटिल र अन्योलपूर्ण हुने देखिएको थियो। नेपालको लक्ष्य २०२३ पछि पहिलोपल्ट दशरथ रंगशालामा अन्तर्राष्ट्रिय खेल खेलाउने थियो।
तर, बीएफएफले नेपालसँगको पूर्वसहमति र क्षेत्रीय मैत्रीपूर्ण सम्बन्धलाई प्राथमिकता दिँदै भियतनामको प्रस्ताव नमान्ने निर्णय गरेको बीएफएफका मिडिया म्यानेजर साडमान सकिबले जानकारी दिए।
योसँगै एन्फाले तय गरेअनुसार सेप्टेम्बर ६ र ९ (२१ र २४ भदौ) मा त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा दुई मैत्रीपूर्ण खेल हुने पक्का भएको छ।








-1776697920056.jpeg&w=3840&q=75)
-1776694761435.jpeg&w=3840&q=75)

-1776687524253.jpeg&w=3840&q=75)
