काठमाडौं। दक्षिण एसियाली क्षेत्र (साफ)बाट भारत र बंगलादेशले मात्रै सन् २०२६ मा अस्ट्रेलियामा हुने एएफसी महिला एसियन कप खेल्ने भएका छन्।
विभिन्न राष्ट्रमा भएका छनोटमा यी दुईबाहेक नेपाल, भुटान, श्रीलंका पाकिस्तान र माल्दिभ्सले छनोटमा सहभागिता जनाएका थिए। यीमध्ये भारत र बंगलादेश पहिला नै छनोट भइसकेका थिए।
तर, समूह ए मा रहेको भुटानको भने खेल बाँकी नै थियो। यो समूहको खेल जोर्डनमा भइरहेको छ। तर, फिफा वरीयतामा आफूभन्दा माथि रहेका सिंगापुरलाई ३–२ र लेबनानलाई २–१ ले पराजित गरेको भुटान त्यसपछिका दुई महत्त्वपूर्ण खेलमा पराजित भयो।
इरानसँग ७–१ र जोर्डनसँग ३–२ ले पराजित भएसँगै साफबाट दुई टोलीले मात्रै अस्ट्रेलिया जाने टिकट सुनिश्चित गर्ने पक्का भयो। भारत समूह बी को विजेता हुँदै अस्ट्रेलिया पुग्ने पक्का भएको हो।
भारतले थाइल्यान्ड, टिमोर लिस्टे, इराक र मंगोलियालाई पराजित गर्यो। बंगलादेशले पनि समूह सी मा अपराजित रहँदै भारतसँगै अस्ट्रेलियाको टिकट सुनिश्चित गरेको हो।
समूह डी मा पाकिस्तान उपविजेतामा सीमित भयो। चाइनिज ताइपेइसँग ८–० ले हार्नु नै पाकिस्तानका लागि दुर्भाग्यपूर्ण रह्यो। पाकिस्तानले इन्डोनेसियालाई २–० र कजाकिस्तानलाई २–१ ले पराजित गर्यो। तर, चाइनिज ताइपेइ अपराजित रहँदै अस्ट्रेलिया जाने बाटो सुनिश्चित गर्यो।
समूह एफ मा नेपाल छनोटनजिक पुगेको थियो। तर, आयोजक उज्बेकिस्तानसँग समान ७ अंक भएपछि पेनाल्टी सुटआउटमा अभागी साबित रह्यो। नेपालले लाओसलाई ९–० र साफकै कमजोर टोली श्रीलंकालाई ८–० ले पराजित गरेको थियो। तर, उज्बेकिस्तानसँग ३–३ को पुनरागमन गरे पनि पेनाल्टी सुटआउटमा ४–२ ले पराजित हुन पुग्यो।
योसँगै महिला एसियन कप खेल्ने ११ टोलीको टुंगो लागेको छ। अस्ट्रेलिया आयोजक भएको नाताले पहिला नै छनोट भइसकेको छ। चीन २०२२ को विजेता, दक्षिण कोरिया उपविजेता र जापान तेस्रो भएको कारण आफ्नो स्थान सुरक्षित गरिसकेका थिए।
बंगलादेश, फिलिपिन्स, भियतनाम, भारत, चाइनिज ताइपेइ, उत्तर कोरिया र उज्बेकिस्तानले भने छनोट चरण पार गरेका हुन्। अब समूह ए बाट जोर्डन र इरानमध्ये १ टोलीले अस्ट्रेलियाको टिकट हातमा थाम्नेछन्।