काठमाडौं। नेपाली टोलीका मुख्य प्रशिक्षक यमप्रसाद गुरुङले साफ महिला यु-२० च्याम्पियनसिपअन्तर्गत श्रीलंकाविरुद्ध हुने खेलमा सुरुआती ११ मा ३ खेलाडी परिवर्तन गरेका छन्।
बंगलादेशको राजधानी ढाकास्थित बसुन्धरा किङ्स एरेनामा खेल नेपाली समय अनुसार साँझ २:४५ बजे हुने छ।
मुख्य मैदान हिलाम्मे भएपछि अब खेल रंगशालाको अभ्यास मैदानमा सारिएको छ। गुरुङले वर्षा ओलीको स्थानमा विंगर सेनु परियारलाई मौका दिएका छन्।
सेनुले भुटानविरुद्धको ६–१ को जितमा २ गोल गरेकी थिइन्। तर, बंगलादेशविरुद्धको ३–२ को हारमा प्रभावशाली प्रदर्शन गर्न सकिनन्। त्यसैले उनलाई श्रीलंकाविरद्धको पहिलो खेलमा गुरुङले आराम दिएका थिए। उक्त खेलमा नेपाल ७–० ले विजयी भएको थियो।
यस्तै, मिडफिल्डर समीक्षा मगरको स्थानमा डिफेन्सिभ मिडफिल्डर कविता गुरुङले सुरुआती ११ मा स्थान बनाएकी छन्। माया मास्केको जिम्मेवारी सेमिहाङ्मा लिम्बूले सम्हाल्ने छन्।