काठमाडौं। फिफा वरीयतामा आफ्नो स्थान सुधार गर्ने उद्देश्यसहित श्रीलंकन फुटबल महासंघ (एफएफएसएल)ले सन् २०२५ को अन्त्यसम्ममा श्रीलंकाली राष्ट्रिय फुटबल टोलीलाई सातवटा अन्तर्राष्ट्रिय खेल खेलाउने योजना सार्वजनिक गरेको छ।
फिफाले जुलाई १०, २०२५ मा प्रकाशित गरेको नयाँ वरीयता अनुसार श्रीलंका अहिले २१० राष्ट्रमध्ये १९६औं स्थानमा छ। सन् २०२३ मा २०७औं स्थानमा रहेको श्रीलंका ११ स्थान माथि उक्लिएको हो।
डेली मिररसँग कुरा गर्दै एफएफएसएल अध्यक्ष जसवार उमरले आफ्नो लक्ष्य सन् २०२५ को अन्त्यसम्म १९४औं स्थानमा पुग्ने रहेको बताए।
यही रणनीतिअन्तर्गत श्रीलंकाले सेप्टेम्बर १ देखि ९ सम्म कोलम्बोमा साउथ एसियन फुटबल फेडेरेसन (साफ) सुपर कप आयोजना गर्ने भएको छ। यो चार राष्ट्र सम्मिलित आमन्त्रणीय प्रतियोगिता हो।
यस प्रतियोगितामा आयोजक श्रीलंकासँगै माल्दिभ्स, पाकिस्तान, बंगलादेश र भुटानलाई सहभागी हुन निमन्त्रणा पठाइएको छ। यी तीन राष्ट्रले सहमति जनाएपछि श्रीलंकाले खेल तालिका सार्वजनिक गर्नेछ।
एफएफएसएलले यस प्रतियोगितालाई श्रीलंकाली टोलीलाई अन्तर्राष्ट्रिय अनुभव दिलाउने र प्रतिस्पर्धात्मक क्षमता बढाउँदै वरीयता सुधार गर्ने अवसरका रूपमा लिएको छ।